प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे संसदलाई जानकारी होस् : सांसद पाठक

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. सुर्य प्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका हुन् । उनले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताए ।

उनले राष्ट्रिय स्वाधीनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उनको भनाइ छ ।

उनले भने– ‘खासगरीकन उहाँको आशंका के थियो भने नेपालका प्रधानसेनापति अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको आशंकाअनुसार त्यो अमेरिकाको भ्रमणमा स्टेच पार्टनरसिप प्रोग्रामअन्तर्गत नेपाल समावेश हुने पो हो कि, त्यसमा समावेश भो भने उहाँको भनाइअनुसार नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्नेछ । नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्ने भनेको पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु हो । पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु भनेको भविष्यमा नेपाल कतै दोस्रो युक्रेन त हुने होइन भन्ने प्रकारका गम्भीर आशंकाहरु उहाँले व्यक्त गर्नुभएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटकको प्रमुख नेताले यस्तो आशंका व्यक्त गरिसकेपछि भित्रभित्रै गम्भीर प्रकृतिका षड्यन्त्र त भएका छैनन् भनेर हामी असाध्यै चिन्तित छौँ । मलाई लाग्छ देश पनि चिन्तामा छ । यस्तो अवस्थामा यो गम्भीर विषय हो । राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय हो । नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय हो । यस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयम् उपस्थित भएर रोष्टमबाट संसदलाई, आम जनतलाई जानकारी गराउनुपर्छ । विषयवस्तु खास के हो ? यो म जोडदार माग गर्दछु ।’

त्यसैगरी प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले महोत्तरी र सर्लाही जिल्लामा मिटरव्याजीहरुले स्थानीयलाई ठगी गरिरहेको उल्लेख गर्दै मिटरब्याजीहरुलाई कारबाहीको माग गरे । उनले यो वर्ष सरकारले अपराधको सूचीमा मिटरब्याजीलाई पनि सामेल गरेको उल्लेख गर्दै यसको लागि कानुन, प्रहरी, प्रशासन र अदालत सबै तयार भइनसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले मिटरब्याजीविरुद्धको आन्दोलनलाई राष्ट्रिय विषय बनाउने सर्लाहीका डाचाराज वाग्लेको प्रतिगमनविरोधी आन्दोलनको क्रममा रहस्यमय मृत्यु भएको र सरकारले राम्रोसँग अनुसन्धान नगरेको भन्दै उच्चस्तरिय अनुसन्धान गर्न माग गरे ।

त्यस्तै प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. ९ मा अवस्थित जनता माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ईश्वर खनालललाई सोही वडाका नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष इन्द्रबहादुर लिम्बुले निर्ममतापूर्वक कुटपिट गरेको भन्दै दोषीउपर कारबाहीको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?