काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको बेला गठबन्धनमा आबद्ध दलका नेताहरुले आफूलाई मार्ने धम्की दिएको भन्दै न्यायको माग गरेकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद चौधरीले आफूसहित आफ्ना परिवारलाई ज्यान मार्ने समेतका धम्की आएको बताउँदै न्यायको माग गरेकी छिन् ।
बैठकमा सम्बोधन गर्दै उनले भनिन्, ‘वैशाख २७ गते गठबन्धन दलका उम्मेदवार, उनका भाइ भतिजा र उनका फेमिलीलगायत अरु पनि उनका समर्थकहरुले मेरो घरमा आएर ममाथि हमला गर्ने र मेरो आमालाई गाली गलौज गरेका छन् । त्यतिबेला म घरमा थिइनँ । म मेरो घरभन्दा २० मिटरको दूरीमा थिएँ, एउटा दाइको घरमा । उहाँहरुले त्यो भिडलाई लिएर गाली गलौज गर्न थाल्नुभयो । मलाई हातहतियार निकाल यसलाई आज खतमै गर्नुपर्छ, यसको छोरीलाई मार्नैपर्छ । भनेर मेरो आमालाई भनेको रहेछ’, उनले भनिन्, ‘मेरा पार्टीका अध्यक्षले पनि त्यसबारेमा भनिसक्नुभएको छ । मलाई न्याय चाहियो ।’
त्यसैगरी उनले अहिले मात्रै नभएर २७ पहिले पनि आफ्नो घरमा हमला गरेको बताएकी छिन् ।
‘२७ वर्षअघि पनि मेरो उनीहरुले मेरो घरमा हमला गरेका थिए’, उनले भनेकी छिन् ।
गत स्थानीय तहको निर्वाचनमा महोत्तरीको मठिहानी नगरपालिकाबाट जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार विजय चौधरीका छोरा दिपेश चौधरीसहितको टोलीले उनीमाथि आक्रमणको प्रयास गरेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया