स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुन्छ : मुख्यमन्त्री राई

लोकपथ
65
Shares

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गरे ।

प्रदेश नम्बर १ का स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताए । राईले सबै जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे ।

मुख्यमन्त्री राईले जोश र होस पुर्याएर काम गरेको अवस्थामा सफलता प्राप्त हुने बताए । साथै क्षमताभन्दा बढीको योजना छनौट गर्ने र टुक्राटुक्री योजनाका नाम कनिकाझैं बजेट छर्ने दुवै काम उचित नहुने पनि उल्लेख गरेका थिए । ‘एउटा प्रसिद्ध भनाइ छ कि, ‘एकैसाथ दश औंलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन’ मुख्यमन्त्री राईले भने, ‘सबै काम एकैचोटी गर्छु नभन्नुहोस्, एउटाएउटा काम सक्दै लैजानुहोस् ।’

उक्त अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं. १ का १ सय ३७ वटै स्थानीय तहका प्रमुख-उपप्रमुखहरूलाई भर्खरै निर्वाचित भएकोमा बधाई ज्ञापनसहितको प्रमाणपत्र प्रदान गरे । तालिम समापनका अवसरमा सहभागीहरूका तर्फबाट खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, मोरङ जिल्ला उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडाले दुईदिने अभिमूखीकरण आफूहरूका लागि लाभदायक भएको बताए ।

समापन समारोह प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?