काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको २९ वर्ष पूरा गरी ३०औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बोर्ड अध्यक्ष रमेश कुमार हमालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिकारुपमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकारले आतिथ्यता ग्रहण गरेका थिए ।
त्यसैगरी, कार्यक्रमको विशेष अतिथिमा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्ण हरि पुस्कर, विद्युत नियमन आयोगका अध्यक्ष र बोर्डका सञ्चालक समितिका सदस्यहरु रहेका थिए भने कार्यक्रममा बीमा समितिका अध्यक्ष, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत, बोर्डका पूर्व अध्यक्षहरु, बोर्डका कार्यकारी निर्देशक, लगायत अन्य कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
धितोपत्र बजार सहभागीहरु, लगानीकर्ता, आर्थिक पत्रकारहरु लगायत अन्य सरोकारवाला पक्षहरुको समेत सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री शर्माले धितोपत्र बजारको नियमन निकायको रुपमा रहेको बोर्ड स्वायत्त निकाय रहेको बताउँदै जवाफदेहिता सहितको स्वायत्तता प्रदर्शित हुने गरी नियमन निकायहरु प्रस्तुत हुनुपर्नेमा विशेष जोड दिए ।
नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको आधुनिक एवं विश्वसनीय बनाउन प्रविधिको प्रयोगमा विशेष जोड दिनुपर्ने बताउँदै बोर्डको संस्थागत क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखी हाल प्रक्रियामा रहेका बजार सुधार तथा विकासका कार्यहरुलाई चाँडै नै टुङ्गोमा पुर्याउन निर्देशन समेत दिए ।
यस कार्यमा मन्त्रालय सकरात्मक रहेको र आवश्यक सहजीकरण समेत गर्ने विश्वास दिलाए । मन्तव्यकै क्रममा उनले लगानीकर्ताको हक हितको संरक्षणका लागि नियमनकारी निकायको क्षमता अभिवृद्धि तथा वित्तीय बजारका नियमनकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताए । हालको बजेटले धितोपत्र बजारमा क्षेत्रगत विविधता प्रवर्द्धनमा जोड दिएको, गैर आवासीय नेपालीहरूलाई लगानी खुला गर्न कानुनी व्यवस्था, एसएमइ, उद्यमशिलता तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनसम्बन्धमा नीतिगत व्यवस्था गरिएको बताए ।
मन्तव्यकै क्रममा उनले बजारको परिपक्व विकासका लागि धितोपत्र बजारसम्बन्धी साक्षरतामा कमी देखिएको बताउँदै यसको अभिवृद्धिका लागि तदारुकताका साथ आवश्यक कार्य अगाडि बढाउनुपर्ने आवश्यकता औल्याए । वैज्ञानिक तरिकाबाट परिसुचकहरु तयार गर्नुपर्ने, औजारगत विविधिकरण गर्नुपर्ने लगायतका विषयहरुलाई विशेष ध्यान दिई नेतृत्व अगाडि बढनुपर्ने धारणा राखे ।
उनले वित्तीय प्रणालीमा देखिएका समस्याहरुको अध्ययन गरी सुझाव पेश गर्नका लागि चार सदस्यीय समिति गठन गरेको बताउँदै हाल देखिएको समस्याको इमान्दारितका साथ यथोचित सम्बोधन सरकारको प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा बोर्ड अध्यक्ष हमालले स्वागत मन्तव्य दिँदै विगत तीन दशकको अवधिमा बोर्डलाई आजको स्थानमा ल्याउन योगदान दिनुहुने पुर्व अध्यक्ष तथा सदस्यहरुलाई उच्च सम्मानका साथ स्मरण गरे । विगतको कोभिडको समयमा उच्च विन्दुमा रहेको बजार पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा देखिएको असहज परिस्थिति र राष्ट्रियस्तरमा देखिएको वित्तीय असन्तुलनका कारण पुँजी बजारमा केही समस्याहरु देखिएको बताउँदै लगानीकर्ताले भोग्नुपरेको समस्याहरुप्रति बोर्ड सजग रहेको र यसको उचित निकास दिनेमा बोर्ड प्रतिबद्ध रहेको बताए ।
लगानीकर्ताको उच्च मनोबल एवम् पुँजी बजार लगायत समग्र वित्तीय प्रणालीमा देखिएका समस्या समाधानका लागि अन्य नियमनकारी निकायसँग समन्वय गर्न बोर्ड तयार रहेको बताउँदै पछिल्लो समय बोर्डमा भएका प्रगतिको बारेमा जानकारी दिए । उनले बजारको आगामी चार महिनामा एसएमइ प्लेटफर्मको स्थापना, गैर आवासीय नेपालीलाई बजारमा प्रवेश गराउने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई धितोपत्र निष्काशनमा आरक्षणको व्यवस्था मिलाउने, देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बजारको सन्तुलित विकासका लागि मध्यमकालिन समयमा बोर्डको पुर्वाधार विकास गर्ने, जनशक्तिको व्यवस्था गर्ने, अटोमेटेड सर्भिलेन्स सिस्टमको व्यवस्था गर्ने, बुक बिल्डीगं प्रणालीको दिगो र पारदर्शी रुपमा सञ्चालनका लागि अटोमेटेड इलेक्ट्रीक अक्सन सिस्टमको व्यवस्था गर्ने, औजारगत विविधिकरण गर्ने, वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने, बजारमा क्षेत्रगत विविधता कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्तव्यको क्रममा बोर्ड अध्यक्ष हमालले नेपाल सरकारबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा समावेश भएका पुँजी बजारसम्बन्धी परिवर्तनकारी नीति तथा कार्यक्रमले बोर्ड र बजारसँग सम्बन्धित सरोकारवालालाई उत्साहित बनाएको बताउँदै उच्चतम पुँजी परिचालन, सुरक्षित लगानीको वातावरण, सक्षम नियमनकारी निकाय बनाउने लक्ष्य प्राप्तिमा बोर्डका आगामी कार्यहरु केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्षद्धय राजु बहादुर जि.सि. र हरि प्रसाद भुसालले आफ्नो मन्तव्य राख्दै बजारमा देखिएको समस्या समाधानका लागि कर्मचारीहरु प्रतिबद्ध र कटिबद्ध रहेकोे बताउँदै बोर्डको संस्थागत क्षमता अभिवृद्धि र समग्र कर्मचारीको हक हित प्रति संवेदनशिल हुनुपर्ने धारणा राखे ।
उक्त कार्यक्रममा अर्थ मन्त्रीबाट नेपाल धितोपत्र बोर्ड ३०औँ वार्षिकोत्सव लेख विशेषांक २०७९ तथा सबोन जर्नल भोल्युमको समेत विमोचन भएको छ । त्यस्तै आ.व. २०७८/७९ को पुँजीबजार उत्कृष्ट पत्रकारिता पुरस्कार बोधि संचार प्रालिद्वारा प्रकाशित टक्सार मासिकका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गरिएको छ भने उत्कृष्ट शोधपत्र सम्बन्धी पुरस्कार पोखरा विश्वविद्यालय अन्तर्गतको क्वेष्ट इन्टरनेशनल कलेजसंग सम्बन्धितश्री आशिष बुढाथोकीको शोधपत्र ‘अ स्टडी अन अनलाईन ट्रेडिङ इन नेप्लीज मार्केट’ र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टका राकेश कुमार रेको शोधपत्रलाई प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया