रुपन्देहीमा ३५० लिटर घरेलु मदिरा प्रहरीद्वारा नष्ट

कपिल अधिकारी / बुटवल । रुपन्देहीको देवदह १० चरङ्गेमा अवैधरुपमा राखिएको ३५० लिटर घरेलु मदिरा र मदिरा बनाउनको लागि तयार गरी राखिएको २०३० लिटर कच्चा पदार्थ (जाडं) वडा प्रहरी कार्यालय रामनगरले बरामद गरी नष्ट गरेको छ ।

शनिबार वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक अमर बहादुर थापाको नेतृत्वमा खटिएको टोलीले देवदह १० चरङ्खे क्षेत्रका विभिन्न घरहरुबाट सो मात्रामा घरेलु मदिरा नष्ट गरेको हो ।

प्रहरीलाई गोप्य सूचना आएलगत्तै उक्त स्थानका घरहरुमा पुगी छापा मार्ने क्रममा नियन्त्रणमा लिइएको मदिरा नष्ट गरिएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक अमर बहादुर थापाले जनाकारी दिए । 

अवैध घरेलु मदिराको कारणले घरेलु हिंसा बढेको र आपराधिक गतिविधि बढेको अनुमान प्रहरीको छ ।

सो गतिविधि रोक्नका लागि घरेलु मदिरा नियन्त्रण अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । दिनहुँ घरेलु हिंसा, झै झगडा लगायतका विभिन्न अपराधिक गतिविधिहरु बढ्दै गइरहेकोले यसलाई न्यूनीकरण गर्नलाई घरेलु मदिरा नष्ट अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने थापाको विश्वास छ ।

प्रहरीले बेला बेलामा घरेलु मदिरा नष्ट गर्दै आएता पनि त्यस क्षेत्रका अधिकांश घरहरुमा घरेलु मदिरा उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?