काठमाडौं । केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लागि २ खर्ब ५७ अर्ब खर्च लाग्ने भएको छ । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा यसको निर्माण समयावधि ९ वर्ष लाग्ने उल्लेख छ ।
शनिबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा महानिर्देशक अनन्त आर्चाय सहितको टोली र चाइना रेल्वे एडमिनिस्ट्रेशनका प्रतिनिधीबीच केरुङ–काठमाडौं रेलमार्ग निर्माणका बारे गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल भएको थियो ।
चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टमा रेलमार्गमा सजिलो भूगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्ने उल्लेख गरिएको छ ।
गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । सम्झौता भएलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो । यस अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो ।
समुन्द्री सतहबाट २ हजार ८ सय मिटरको उचाईमा रहेका कारण तथा भौगोलिक कठिनाइ रहेको भूभागबाट रेलमार्ग निर्माण गर्नुपर्ने भएकोले अलि बढी समय लाग्न सक्ने रेल विभागका सूचना अधिकारी उपाध्यायले बताए ।
चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा–सिगात्से रेलमार्ग निर्माणाधीन छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम शुरु भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया