काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश नम्बर २को सरकारले सत्कार गरेको छ भनेका त्यहाँका केही सांसदहरूले ओली उपस्थित सदनलाई बहिष्कार गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउटले स्वागत गरेका थिए ।
प्रदेश सभामा सभामुख सरोजकुमार यादवले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै सम्बोधन गर्न समय दिएका थिए ।
प्रदेश नम्बर २को सरकारमा सामेल भएका राजनीतिक दल राष्ट्रिय जनता पार्टीका सांसदहरूले ओली उपस्थित रहेको सदन बहिष्कार गरेका हुन् ।
ओलीले प्रदेश सभालाई सम्बोधन शुरू गर्न लाग्दा उपेन्द्र महतो, विक्की यादव र गौरी नारायण साहले सम्बोधन बहिष्कार गरी बाहिर निस्केका थिए ।
राजपाका महासचिव मनिष सुमनले पनि ओलीको सम्बोधन बहिष्कार गरे ।
बहिष्कार गर्ने नेताहरूले बहिष्कार गर्ने कारणहरू खुलाएका छन् ।
उनीहरूले सार्वजनिक गरेको धारणा अनुसार प्रधानमन्त्री ओली बसेको प्रदेश सभामा बस्नु आफूहरूको लागि गौरवको विषय नभएको बताए ।
ओलीको आगमनले प्रदेश २को आम जनता उत्साहित नभएको भन्दै प्रदेश सभा सदस्य उपेन्द्र महतोले भने“ तपाईले गर्ने सम्बोधनको कार्यक्रमले मलाई गर्वको अनुभूति भइरहेको छ्रैन् ।”
गर्व अनुभूति नहुनाको कारण उल्लेख गर्दै उनले भने“ ६ महिनाको लामो मधेश आन्दोलन अझै मधेशी जनताले बिर्सेको छैन ।
आफ्नो संवैधानिक अधिकार र पहिचानको लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका निहत्था मधेशी जनतामाथि टाउको र छातीमा ताकेर गोली हानि हत्या गरिएको घटना अहिले पनि मधेशी जनताको मानसपटलमा ताजा नै छ ।
हाम्रो अहिंसक आन्दोलनलाई माखे साँग्लो भनी अपमानित गरिएको र हाम्रा वीर शहीदहरुको शहादतलाई आँप झरेको संज्ञा दिएर शहादतलाई अपमान गरेको झझल्को अहिले पनि आईरहेको छ । सयौं शहादतको अभिभारा बोकेर कसरी तपाईंको स्वागत गर्ने?”
प्रेदश सांसद महतो भन्छन् “नेपाली जनताको ताजा जनादेशले दुई तिहाई बहुमतको सरकारको नेतृत्व यहाँले गर्दै हुनु हुन्छ ।
चुनाव प्रचारको क्रममा र सरकारको विश्वास मत लिने बेला पनि तपाईले मधेशी जनताको भावना अनुसार माँग सम्बोधन गर्ने कुरा प्रष्टताका साथ भन्नु भएको थियो ।”
ओलीले त्यसो नगरेकाले आक्रोश व्यक्त गर्दै उनले भने “ विगतमा जे जसो भएपनि यस पाली तपाईँ प्रधानमन्त्री बने पछि मधेशी जनतालाई विश्वास थियो यस पटक तपाईँ खस शासक वर्गको मात्र प्रधानमन्त्री नबनेर सम्पूर्ण नेपाली जनताको प्रधानमन्त्रीको रुपमा आफुलाई प्रस्तुत गर्नुहुनेछ ।
विगत जस्तो तपाईँ केही सीमित वर्गको मात्रै प्रधानमन्त्री नबनेर यस पटक देशका शोषित, पीडि़त, उपेक्षित, असहाय, सिमान्त्कृत, थारु, दलित, मधेशी, अल्पसंख्यक सबैको प्रधानमन्त्री बन्नु हुन्छ ।”
ओलीले संविधान संशोधन नगरेकाले आक्रोशित सांसदहरूले सरकारको नेतृत्व गरेको ६ महिना हुनलाग्दा पनि व्यवहारले अझै पनि शोषित पीडि़त, उपेक्षित, मधेशी,थारु लगायत कसैको पनि मन जित्ने काम गरेको नदेखिएको बताए ।
बष्हिकार गर्ने प्रदेश सभा सदस्यको क्रियाकलापबारे पार्टीले असन्तुष्टि व्यक्त नगरेकोले राजपा र ओली नेतृत्वको सरकारबीचको सम्बन्ध टाढिदै गएको जस्तो देखिएको छ ।
राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री डा. सुरेन्द्र झाले प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्दै हिँडनु संघीयताको आचरण अनुकूल नभएको बताए ।
संघीयता भएको देशमा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्दै हिँडने गरेको कतै नदेखिएको भन्दै डा. झाले भने “ प्रधानमन्त्रीको यो क्रियाकलाप शंकास्पद रहेकाछ ।
यसबारे पार्टीले औपचारिक धारणा बनाउनेछ ।”
पार्टीले संविधान संशोधनबाट मधेशको असन्तुष्टि समाधान गर्नुको साटो प्रदेशहरूमा सम्बोधन गर्नु उचित नभएको उनको बुझाई थियो ।
तर कपितयले राजपाको यो क्रियाकलाप चीची पनि पापा पनि खोजेको जस्तो देखिएको टिप्पणी गरेकाछन् ।
सरकारसँग असन्तुष्टि भए दिएको समर्थन फिर्ता लिएर आलोचना गर्नु उचित हुने उनीहरूको बुझाइ छ ।
यसअघि पार्टीका महासचिव मनिष सुमनले प्रदेश सरकारबाट राजपा हट्ने बताएपछि पार्टीको शीर्ष नेतृत्वले त्यसको खण्डन गर्न एक विज्ञप्ति निकालेको थियो ।
राजपाले यो पाखण्ड गरेको जस्तो देखिएको उनीहरूले जनाए ।
केहीले ओलीले मधेशमा आफ्नो खुटटे टेकाउन यो पूर्व निर्धारित योजना बनाएको बताएका छन् ।
राजपाका नेताहरू मध्ये ती सभासद ओलीको विरोध गरेकाछन् जसको सम्बन्ध राजपा नेता राजेन्द्र महतो निकटका मानिन्छन् ।
सम्पन्न निर्वाचनमा राजपा नेता महतोलाई जिताउन ओलीले सहयोग गरेका थिए । त्यहाँबाट नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई हराउन महतोलाई सहयोग गरेका थिए ।
यस्तोमा महतो निकटकाले ओलीलाई विरोध गर्नु भनेको अस्वाभाविक जस्तो देखिएको स्थानीयहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया