काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारलाई अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधवार नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवका अवसरमा शुभकामनादिंदै उनले धितोपत्र बजारका लगानीकर्ताहरूको हित संरक्षण गर्न नियामक निकायको संस्थागत क्षमता अभिवृद्धि गरिने बताएका छन् ।
पुँजीबजारको विकास तथा विस्तारका लागि बजारमा विविधीकरण ल्याई सम्भावित जोखिम न्यूनीकरण गरी लगानीकर्ताको हित संरक्षण गर्नुका साथै गैर आवासीय नेपालीहरूलाई लगानी खुला गर्न कानुनी व्यवस्था गरिनुपर्ने बराएका छन् ।
वैदेशिक रोजगारीमा रहेका नागरिकलाई प्राथमिक निष्काशन (आईपीओ)मा आरक्षणको व्यवस्था गर्ने र उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न विशिष्टीकृत कोषहरू र वस्तु विनिमय बजार एवं यसका पूर्वाधारहरू सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने बताएका छन् ।
त्यसैगरी, अर्थमन्त्री शर्माले धितोपत्र बजारका लगानीकर्ताहरूको हित संरक्षणका लागि नियामक निकायको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै अत्याधुनिक प्रविधियुक्त सुपरिवेक्षण प्रणाली विकास गरी बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले धितोपत्र बजार थप गतिशील, विश्वसनीय एवं प्रभावकारी बनाउनुपर्ने परिप्रेक्ष्यमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारको सुदृढ एवं विश्वसनीय व्यवस्था गरी देशभित्र छरिएर रहेको बचत तथा बैदेशिक पुँजीसमेतको उत्पादनशील क्षेत्रमा परिचालन गर्नका लागिअनुकूल वातावरण तयारीमा बोर्डको भूमिका सशक्त एवं प्रभावकारी हुने विश्वास लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया