मुख्यमन्त्रीले भने, मुलुकी ऐनको विरोध गर्नु अल्पज्ञान हो

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कानूनका अल्पज्ञानीले मात्र नयाँ मुलुकी ऐनको विरोध गरेको धारणा राखेका छन् ।

पोखरेलले कम्युनिस्टको दुई तिहाई नेतृत्वको सरकार बनेपछि अधिनायकवाद ल्याउन खोजेको भन्दै कतिपयले भ्रम फैलाए पनि भ्रममा नरहन आग्रह समेत गरे ।

आज भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी ऐनमाथि बोल्दै उनले यो ऐन (संहिता) धेरै लामो वर्षको तयारी वर्षपछि आएको बताए । साथै उनले प्रेस स्वतन्त्रता कुण्ठित नहुने बरु फेरिएको समाजसँग पुरानो ऐन काम नलाग्ने भइसकेको पनि बताए ।

मुख्यमन्त्री पोखरेलले यो ऐन राजनैतिक स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताका लागि आएको पनि बताए ।

कानून मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उच्च अदालत बार एसोसिएसन बुटवलका अध्यक्ष खडानन्द भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव भरतमणि रिजाल, प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?