कर वृद्धिको विरोधमा आन्दोलनमा उत्रियो कांग्रेस

कपिल अधिकारी / बुटवल । कर वृद्धिको विरोधमा  नेपाली कांग्रेस बुटवल उपमहानगर समिति आन्दोलनमा उत्रिएको छ । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म गरेको कर वृद्धिको विरुद्धमा आज कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गर्दै कर वृद्धि फिर्ताको माग गरेको हो ।

अस्पताल लाइनबाट सयौँको संख्यामा शुरु भएको नाराबाजी सहितको विरोध –याली नगर परिक्रमा गर्दै बुटवल उप–महानगरपालिकाको कार्यालयमा पुगेको थियो । कार्यालयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहिबेर झडप समेत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्नेगरि गरेको कर वृद्धि बुटवलका जनताले नरुचाएको बताए । उनले कर वृद्धि गर्नै परे गत साल भन्दा १० देखि १५ प्रतिशत मात्रै गर्नुपर्ने बताए ।

बिगतमा १० हजार कर तिर्नेले अहिले ३५ हजार कर तिर्नु परेको भन्दै पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएको उनले बताए ।

सभापति पाण्डेले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसंग व्यापक छलफल बिना अत्याधिक कर बढाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।

पाण्डेले भने—‘बढेको कर फिर्ता नलिएसम्म आन्दोलन रोकिदैन हुँदैन, हामी झन् सशक्त भएर अघि बढ्छौं ।’

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठले निर्वाचित जनप्रतिनिधिहरु कर वृद्धि गर्न जनताले नजिताएको बताए ।

‘जनप्रतिनिधिले धेरै सेवा सुबिधा लिनका लागि कर वृद्धि गरेका छन्, धेरै सुबिधा चाहिए लोकसेवा पढेर कर्मचारी भएर आउ’ उनले भने ।

हाटबजारमा मकैपोल्नेसँग पनि कर लिइएको भन्दै उनले जनताको सेवक बन्न जनप्रतिनिधिलाई आग्रह गरे । अव्यवस्थित बसोवास गर्नेहरुलाई लालपुर्जा बितरण गर्न लागे जस्तो गरेर कर लिन लागेको भन्दै त्यसप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ  ।

कोणसभामा कांग्रेस उपमहानगर सचिब ज्योति भण्डारी, प्रतिनिधिसभाका उम्मेदबार युवराज पाण्डे, प्रदेशसभाका उम्मेबार काजिमान श्रेष्ठ लगायतले करवृद्धि फिर्ता लिन आग्रह गरे ।

सोहि क्रममा कांग्रेस नेताहरुले बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीलाइ ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै सुबेदीले बाहिर हल्ला आएजस्तो करवृद्धि नगरिएको दाबी गरे । उनले सबैको सल्लाह र सुझाब सहित आफु अघि बढ्ने आश्वासन दिएका थिए ।

बुटवल कांग्रेसले उपमहानगरपालिकाले गर्ने काम हेरेर गुण र दोषको आधारमा स्वागत, समर्थन, सहयोग र बिरोधको नीति सहित एक वर्षसम्म कुनै बिरोध गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?