२०२९ सालतिर फर्किँदै व्यञ्जनकार भन्छन् : ‘…त्यसपछि झोक चल्यो अनि उम्मेदवार बनेँ’ (अन्तर्वार्ता)

८१ वर्षको उमेरमा पनि उही युवा जोसमा देखिन्छन् नरसिंह व्यञ्जनकार । निर्दलीय पञ्चायती व्यवस्था, बहुदल, राजाको प्रत्यक्ष शासनकाल र गणतन्त्रमा समेत वडाध्यक्ष बनेका व्यक्ति हुन् उनी । २०२९ सालबाट निरन्तर हालको ललितपुर महानगरपालिका वडा नं १० बाट वडाध्यक्ष बन्दै ५० वर्ष निरन्तर जनप्रतिनिधि बनेर काम गरेका छन् । २०२९ सालबाट २०७४ सालसम्म निरन्तर स्वतन्त्रबाट वडाध्यक्ष बनेका व्यञ्जनकार भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भए । निर्वाचनमा पराजित बने पनि काम गर्नका लागि पद नचाहिने भन्दै निरन्तर जनताको सेवामा लाग्ने बताउँछन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरबाट धेरै उम्मेदवारहरुले स्वतन्त्रबाट जित हासिल गरेका छन् । त्यसो त २०२९ सालमै स्वतन्त्रबाट जित हासिल गरेका उनले जितेसँगै चुनौतीहरुको सामाना गर्नुपरेको बताउँछन् । पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा समेत वडाध्यक्ष बनेका उनले कस्ता कस्ता समस्या र सुधारका काम गरेका छन् ? लगायतका विषयमा लोकपथले उनीसँग विशेष कुराकानी गरेको छ ।

पहिलोपटक निर्वाचनमा देबेन्द्रलाल अमात्य उम्मेदवार बन्न लागेपनि उनले नराम्रो बोलेका कारण आफू उम्मेदवार भएर जितेको बताउँछन् ।

‘त्यो बेला (२०२९) सालमा देबेन्द्रलाल अमात्य चुनावमा उठ्न लागेका थिए । मलाई सहयोग गर भन्नुभयो । मैले पनि हुन्छ भनेको थिए । बेलुका बेलुका उहाँसँग घुम्न जाँदा नराम्रो नराम्रो कुरा निकाल्नुभयो । जितेपछि यसलाई यसो गर्छु भन्नुभयो । अनि मलाई रिस उठ्यो । अनि मैले तपाइँ नजित्दा त यस्तो हुनुहुन्छ जितेपछि कस्तो हुनुहुन्छ भनेर भने । म लड्छु भनेर भने ।’ उनले भने ।

त्यसैगरी आफू निर्वाचित भएर गइसकेपछि वडा कार्यालयमा सचिव र सदस्यहरु समेत नभए पनि काम गरेको बताउँछन् । साथै अहिले जस्तो मतदाताले कुनै पनि माग नगर्ने उनको भनाइ रहेको छ ।

‘चुनाव त जितियो तर वडा सचिव पनि छैन । वडा सदस्य पनि छैन । वडा समिति पनि छैन । खाली छाप एउटा मात्रै थियो । त्यसमा चाँही काम गरियो ।’ उनले भने, ‘त्यो बेलामा अहिलेजस्तो यो त्यो भनेर माग गर्ने बानी पनि थिएन । हनुमानथानदेखि राजघाटसम्म एउटा बाटो खोलिदिँए मैले । युवकहरु पनि खुशी पार्न मैले फ्रेन्च क्लब स्थापना गरेँ ।’ उनी थप्छन्, ‘युवाहरु त्यतातिर लागे यता वृद्धवृद्धाहरुलाई कहिले कथा भन्न लगाउने गरिन्थ्यो ।’

आफू स्वतन्त्रबाट निर्वाचित भए पनि आफूले सोचेजस्तो काम गर्न सकेको र सबैबाट सहयोग भएको उनको दाबी रहेको छ ।

‘मलाई काम गर्नमा अहिलेसम्म असहयोग भन्ने छैन । आफूले आँटेको काममा चाँही म सफल नै भएको छु ।’ उनले भने ।

उनी स्वतन्त्रबाट मात्र नभएर २०४९ सालमा नेपाली कांग्रेसबाट समेत उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर २०५४ सालसम्म सोचेजस्तो काम गर्न नसकेपछि पुनः स्वतन्त्रबाटै निर्वाचित भएको बताउँछन् ।

‘म २०४९ सालमा नेपाली कांग्रेसबाट टिकट लिएर निर्विरोध निर्वाचित भए । तर २०४९ सालदेखि २०५४ सालसम्म मैले एउटा बत्तिको चिमसमेत ल्याउन सकिन ।’उनले भने, ‘२०५४ सालमा टिकट आएन र म स्वतन्त्रबाट उठेँ । फेरि स्वतन्त्रबाट जनताले जिताइदिनुभयो ।’

त्यसैगरी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट धेरै उम्मेदवारहरुले जितेकोप्रति खुशी व्यक्त गर्दै स्थानीय तहलाई दलविहीन बनाउनुपर्ने माग उनको रहेको छ। साथै अर्को निर्वाचनमा उमेरको कारण पनि नउठ्ने बताउँदै बाँकी रहेका कामहरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् ।

हेर्नुहोस् लोकपथका लागि प्रकाश पुडासैनीले व्यञ्जनकारसँग गरेको कुराकानीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?