भूकम्पपछिको १ हजार २ सय ३ दिन : बनेन स्वयम्भूनाथ

काठमाडौं । विशेषतः बौद्ध र हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मानिने स्वयम्भू महाभूकम्पले क्षतिग्रस्त भएको ३ वर्ष पूरा भइसकेको छ । विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूको पुनर्निर्माणको काममा समेत ढिलाइ भइरहेको छ । पुनर्निर्माणको काम लामो समयसम्म अलपत्र भइरहँदा  सम्बन्धित निकायहरुले खासै चासो दिएको छैन । कार्यालयमा समयमा समेत नभेटिने कर्मचारीहरु भूकम्पपछि स्वयम्भूको पूनर्निर्माण कहिले सकिन्छ भन्ने प्रश्नसँग वाक्क भएका छन् । पुनर्निर्माणको कूल लागत, जनशक्ति, हालसम्म भएको खर्चको विवरण माग्दा पदाधिकारीहरुसँग जवाफ छैन । त्यसैले उनीहरु उत्तर दिन हिच्किचाउँछन् । पन्छिरहन्छन् । तर उनीहरुले ‘काम भइरहेको छ’ भन्ने ओठे जवाफ दिन छोडेका छैनन् ।

वैशाख १२ को महाभूकम्पको कारण विश्व समपदा सूचीमा सूचिकृत ८ वटै सम्पदाहरु क्षतीग्रस्त बनेका छन् । यद्यपी सम्पूर्ण स्वयम्भूकोे पुनर्निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छैन ।  

महाभूकम्पका कारण स्वयम्भूका जम्मा १६ वटा संरचनामध्ये ७ वटा मन्दिर ध्वस्त भएको थियो । त्यसमध्ये चार वटा सम्पदा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने ३ वटा आंशिक रुपमा । पुरातत्व विभागको नेतृत्वमा स्वयम्भुको प्रतापपुर, अनन्तपुर र सेतोसतलको पुननिर्माण भएको हो । अनन्तपुर मन्दिर पूर्ण रुपमा ध्वस्त भएको थियो । पुरातत्व विभागले एक करोड ७२ लाख रुपैयाँमा अनन्तपुर मन्दिर निर्माण कार्य सम्पन्न गरेको छ । प्रतापपुर निमार्णको लागि एक करोड ४९ लाख खर्च भएको छ । सेतो सतलको काम हालसम्म सकिएको छैन । अघिल्लो आर्थिक वर्षमा २० लाख रकम मात्र आएकाले त्यसको निमार्णको लागि पैसा नपुगेको र अबको चार महिनाभित्र सेतोसतलको काम सकिने पुरातत्व अधिकृत देवेन्द्र भट्टराई बताउँछन् । यी सम्पदा पुराना धार्मिक महत्वका सामानहरु प्रयोग गरेर बनाइएको छ । परापूर्व कला र संस्कृतिलाई जोगाउने प्रयासस्वरुप यसो गरिएको भट्टराई बताउँछन् । ‘पुरानो शैलीमा निर्माण गर्नुपर्ने भएकाले विदेशी निर्माण सामाग्री प्रयोग गर्ने कुरै भएन ।’ उनले थपे ।

पुरातत्व विभागका प्रवक्तालाई थाहा छैन बजेट 

पुरात्तव विभागका प्रवक्ता रामबहादुर कुँवरलाई लोकपथले प्रश्न गर्यो स्वयम्भूकोे पुनर्निर्माणको लागि बजेट कति छुट्याइएको छ ।

केहीबेर अल्मलिएका कुँवरले भने, सबै काम ठेक्का बाट हुन्छ । त्यसैले स्वयम्भुको पूननिर्माणको बजेटबारे मलाई थाहा छैन । योजना शाखामा थाहा हुन सक्छ । त्यहि पनि त्यहा एउटा समिति छ उसैले गरिहाल्छ नि ।

प्रवक्ताको जिम्मेवारी लिएका व्यक्ति बजेटबारे स्पष्ट छैनन् । पुननिर्माणको रफ्तारमा आशंका उत्पन्न भएको छ ।

लोकपथले उनलाई अर्को प्रश्न गर्यो, कति समय भित्र पुनर्निर्माणको काम सम्पन्न हुन्छ ?

प्रश्नले सोधिएको केही मिनेट उनी चुपचाप बसे । अनि आनाकानी गर्दै बोले, “एक ÷दुई वर्षमा गरिहाल्छन् नि । हामीले निर्देशन दिएकै हो । गर्दै छन् होला । अरु सम्पदाहरुको पुनर्निर्माण भन्दा स्वयम्भूको पूनर्निर्माण अझै छिटो भएको छ । समन्वय राम्रो भएकाले काम छिटै सकिएको हो । बाँकी रहेको कामपनि केही महिनाभित्र सकिन्छ होला ।”

स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिले त्यहाँको बाँकी पुनर्निर्माणको जिम्मा लिएको छ । तर यो समिति भूकम्प जानुपूर्वदेखि नै त्यहाँ छ । पुरात्तव विभागले स्वयम्भूकोे पुनर्निर्माणको लागि कुनै पनि समिति गठन गरेको छैन । स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका अनुसार स्वयम्भूको प्रतापपुर, अनन्तपुर र सेतोसतल गरी तीनवटा बाहेकका अरु १४ वटा मन्दिर निर्माणको लागि प्रवेश शूल्कबाट उठाइएको रकम, अनुदान र चन्दास्वरुप उठाइएको रकमबाट काम भइरहेको समितिले जानकारी दिएको छ ।

भूकम्प गएको  लामो समयपछि काम शुरु भएकाले पुनर्निर्माणमा ढिलाइ भएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महसचिव महेन्द्ररत्न बुद्धचार्यको भनाइ छ । ७५ प्रतिशत काम सम्पन्न भइसक्यो अब २५ प्रतिशत बाँकी छ । करिब ६ महिनामा स्वयम्भू पुनर्निर्माण पूरा हुनेमा उनी ढुक्क छन् । डाँडामा मन्दिर भएकाले सामान लैजान गाह्रो भए तापनि पुनर्निर्माणमा ढिलाइ नभएको उनको दाबी छ । ‘पहिलाकै स्वरुपमा पुनर्निर्माण गर्न लागिएकाले बजारमा त्यसको लागि सामान उपलब्ध नहुने समस्या पनि छ ।’ उनले थपे । जनशक्तिको अभाव मुख्य समस्या हो ।

अहिले शान्तिपुर मन्दिरको मात्र काम बाँकी छ । पुरातत्व विभागकै नेतृत्वमा काम भइरहेकाले छिटो भन्दा छिटो काम हुनेमा उनी विश्वस्त देखिन्छन् ।

विश्व सम्पदा सहित विभिन्न मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणकोे गतिबाट सन्तुष्ट हुने ठाउँ छैन । कतिपय मन्दिरका गेट, सत्तल, पाटी, छाना लगायतको संरचना निर्माण भइसके तापनि मुख्य सम्पदाका मुख्य संरचनाको काम भने अगाडि बढ्न सकेको छैन । क्षतिग्रस्त सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन सरकारी निकाय र सरोकारवालाबीच समन्वयको खाँचो देखिएको छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?