हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन मिल्दैन : मीनबहादुर विश्वकर्मा

लोकपथ
168
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताएका हुन् ।

उनले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भएपनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गरे ।

सांसद विश्वकर्माले यौन हिंसा गम्भीर अपराध भएकाले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन पनि सरकारसँग माग गरे ।

उनले भने, ‘यौन हिंसा गम्भीर प्रकारको अपराध हो । यसका दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ । हामी सबैको र नेपाली समाजको नै माग छ । तर अपराध भन्नेबित्तिकै यसको हदम्याद राख्ने कि नराख्ने भन्नेबारेमा चाहिँ अलि बढी गहन छलफल हुनुपर्दछ जस्तो लाग्छ ।

अपराधीलाई दण्डित गर्न र पीडितलाई न्याय दिनका लागि हामील हदम्याद नराख्दाखेरी वा राख्दा खेरी प्रमाण भेटिने आधार के हुन्छ ? हदम्याद नराख्दा प्रमाण भेटिन्छ कि मेटिन्छ ? तर हाम्रा पुराना कानुनहरुले के भन्छ भने–यस्तो किसिमको जघन्य अपराधका घटना वा जब्बरजस्ती करणीमा जति छिटो उजुरी गर्न गयो, त्यति ज्यादा प्रमाणहरु भेटिने हुँदा त्यति नै छिटो पीडकलाई दण्ड सजायको भागी बनाउन सकिन्छ भन्ने हाम्रो मान्यता थियो ।

तर आज मान्यता ठ्याक्कै उल्टो बदलिएको जस्तो लाग्छ । जतिसक्दो ढिलो हामीले उजुरी गर्‍यौ । अथवा जति ढिलो हामी कानुनको ढोका ढक्ढक्याउन गयौँ, त्यति धेरै न्याय पाइन्छ भन्ने मान्यता मैले बुझ्न सकिराखेको छैन । म कानुनको विद्यार्थी हुँ । त्यसैले यो प्रमाण भेटिने किसिमले प्रमाण नपुग्ने किसिमले लैजानका लागि के उपाय हुन सक्छ ? अलि आवेगमा, लहडमा नल्याउन् जस्तो लाग्छ ।’

थप्दै सांसद विश्वकर्माले भने , ‘हाम्रो नेपाली समाजको अहिले बनावट हेर्ने हो भने पूर्ववक्ता माननीयज्यूहरुले भनेजस्तै नावालिकाको हकमा बालबालिकाको हकमा, वृद्ध असहाय, अशक्तको हकमा स्वभाविक हो–हामीले हदम्याद राख्यौँ भने त्यो समयमा उजुरी हुन सक्दैन । आफ्नो पीडा व्यक्त हुन सक्दैन । नसकिएपछि अपराधी भाग्ने, छुट्ने र अपराधीचाहिँ दण्ड सजायको कानुन कठघरामा ल्याउन नसकिने अवस्था हुन सक्छ । त्यस्तोको हकमा त्यस व्यवस्था गर्नुपर्छ होला । तर सामान्य नागरिकको हकमा, सक्षम नागरिकको हकमा र अहिले त देखिएको सहरीया धनाढ्य नागरिकहरुको हकमा यो कानुनलाई हामीले ल्यायौँ भनेचाहिँ अधिकांश हाम्रा बनेको कानुनहरुको दूरुपयोग हुनेगरेको छ । हामीले कुनै विशेष जाति, क्षेत्र विशेषलाई सुविधा दिने भन्यो भने त्यहाँ व्यापक रुपमा दुरुपयोग हुने गरेको हामीले पाएका छौँ । हदम्यादविनाको कानुन आयो भने के होला भन्ने मैले सोच्दाचाहिँ सबै नक्कली मुद्दाको चाङ लाग्ने, अनि सक्कली पीडितहरुलाई रुँदै सडकमा आउनुपर्ने, मानसिक सन्तुलन समेत ठीक नहुने अवस्थामा दिदीबहिनीहरु, महिलाहरु सडकमा आउने र नक्कली मुद्दाको चाङ लाग्दै जाँदा एक जना साथीले सामाजिक सञ्जालमा अस्तीको दिन लेख्नुभएको थियो–यो हदम्याद नभएको कानुन आउँदै छ रे । एकदम राम्रो हो । अब सबै पुरुषहरु जेलमा जाने भए । स्कुल बन्द गरौँ, जेल बनाऔँ। सबै पुरुष जेलमा भएपछि यौनहिंसा बन्द हुन्छ । त्यसपछाडि नेपालमा कुनै पनि मुद्दा चल्दैन, राम्रो हुन्छ भन्नु भएको थियो । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको स्टाटस सार्थक नबनोस् हामी नेपाली समाजलाई ठीक बाटोमा लैजाऔं ।’

सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानुन तुर्जुमा गर्नुअघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?