एजेण्डा चोर्ने सत्तापक्ष, एजेण्डाविहीन प्रतिपक्ष

काठमाडौ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(ने.क.पा)ले नेपाली कांगेसका एजेन्डा चोरेपछि प्रतिपक्षी कांगेस अहिले एजेन्डा विहीन भएको छ ।

लोकतन्त्र, आवधिक निर्वाचन जस्ता कांग्रेसी एजेन्डालाई सत्ता पक्षले चोरेपछि कांग्रेसलाई समस्या परेको देखिन्छ ।

सडकबाट यसो फाटफुट एजेन्डालाई टिपेर प्रतिपक्षी कांग्रेसले सत्तारूढ दललाई तर्साएर ढाल्ने अवस्था नरहेको प्रधानमन्त्री केपी शर्मा ओली जानकार छन् ।

उनले भनेका थिए “ नेपाली कांग्रेससँग एजेन्डा नै छैन् । भएको डा. केसीको अनसन पनि खोसिन्छ ।”

कांग्रेसले अर्को एजेन्डा सदनमा सभामुख र उपसभामुख एउटै पार्टीको हुनुपर्ने मागलाई बनायो ।

तर आफैले बनाएको संविधानको परिपालना गर्न सत्तापक्षले प्रतिपक्षलाई संविधानको धारा १०५को प्रावधान पढ्न भन्यो ।

सो धारामा उल्लेख गरिएको छ –“ बहसमा बन्देज ः नेपालको कुनैअदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन ।

तर महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पु-याएको मानिने छैन”

सत्ता पक्षले यो त सदनमा उठाउनै पाइँदैन भने प्रतिपक्षलाई जनाउ दिएपछि सदनमा उठाइरहेको एजेन्डा पनि कांग्रेससँग गुम्यो ।

कांग्रेसमा समसामयिक अर्थ राजनीतिबारे समिक्षा गर्ने कार्यक्रम गरियो । यसको लक्ष्य भनेका एजेन्डाको खोजी गर्नु रहेको छ ।

यसो गर्नुको पछाडि आर्थिक समृद्धिको लक्ष्य लिएको सरकारले स्थानीय तहबाट कर असुल गर्न खोजेको एजेन्डा तय गर्नु रहेको कांग्रेसका नेताहरूको बुझाई छ ।

यता न उताका कांग्रेस पार्टीका एक नेताले भने “ पार्टीमा दुबै समूहले गुट भयो , गुट भयो भनेर हल्ला गर्छन् तर गुट समाप्त पार्ने विधि र नीति बनाउन ध्यान नै दिँदैन् ।”

कार्यवाहक सभापति विमलेन्द्र निधिले महासमिति बैठक अगाडि सम्बन्धित क्षेत्रका विज्ञ, शुभेच्छुक र नेता र कार्यक्रतासँग आगामी एजेण्डाहरूका बारेमा छलफल गरी  रायरसुझाव लिन थालिएको बताए ।

छलफलमा सहभागीहरूले गुट गुटमा विभाजित कांग्रेसलाई एक बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

सात वटै प्रदेश र केन्द्र सरकारमा प्रतिपक्षमा  कांग्रेस छ । कम्युनिस्ट सरकार असफल होला र कांग्रेसले पाउला भन्ने सोचाइ त्याग्नुपर्ने अवस्था देखिएको छ ।

यसमा कांग्रेसका नेताहरू पनि सहमत देखिन्छन् । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भने “ ‘कम्युनिस्ट सरकार असफल हुन्छ र पालो हामीलाई आउँछ भन्ने सोचाइ राख्न हुँदैन् ।  

कांग्रेसीहरु सच्चिनैपर्छ । कांग्रेस माथि उठ्न नयाँ ढङ्गले केही पहल गर्नै पर्छ ।”

यता न उताका ती कांग्रेसीले बरिष्ठ नेता पौडेलको यो भनाइसँग सहमत राख्दै भने “तर कसरी सच्चिने ? ”

सत्ता पक्षको आक्रमण आक्रमण प्रतिपक्षमाथि शुरू भइसकेको छ । सबै कांग्रेसले गरेको हो ।

नीतिगत र सैद्धान्तिक एजेन्डाको खोजी आवश्यक छ । कांग्रेसका सबै एजेन्डा कम्युनिस्टहरूले चोरेको छ । कांग्रेसले आफ्नो एजेन्डा छोडे्को छ । कांग्रेसीहरू सच्चिने कसरी ?

छलफलका सहभागीहरूले सरकारले सार्वजनिक गरेको ५ महिने कार्यकाललाई हतियार बनाउने सल्लाह दिएका छन् ।

५ महिने कार्यकालको कमजोरीलाई उपलब्धिको रूपमा सरकारले प्रस्तुत गरेकोलाई नाङ्गो पार्ने सुझाउ थियो ।

सुझाउ दिनेमा योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले भने “ सरकारले सार्वजनिक गरेको ५ महिने उपलब्धिको दस्तावेज खोक्रो रहेको त्यसलाई चिर्ने काम कांग्रेसले गर्नुपर्छ ।”

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सुन तस्कारलाई समातेकोे, डुवान समस्याको समाधान खोजिएको विषयलाई सरकारले उपलब्धिको रूपमा लिएकोले त्यसको भण्डाफोर गर्नुपर्ने उनको सुझाउ थियो ।

कर उठाउने विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले मनोनमानी ढंगले प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गरेको विषयमा  स्थानीय विकास मन्त्रालयसँगको मतभेद बढ्न थालेको छ । यस्ता विषयमा कांग्रेसले ध्यान दिनुपर्ने छ ।

वाग्लेको सुझाउ भन्दा फरक धारणा राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले सारेका थिए । उनले सरकारको समिक्ष गर्ने बेला भइनसकेको बताए ।

सरकार बाहिर हुँदा बेठीक तर, सरकारमा गएपछि सबै ठीक भन्ने नक्कली राष्ट्रवादजस्ता विषयको भण्डाफोर गर्दा कांग्रेसलाई केही फाइदा हुन सक्ने देखिएको उनले जनाए ।

कांग्रेस केन्दीय सदस्य तथा पूर्वअर्थमन्त्री रामशरण महतले पनि सरकारले हावादारी कुरा गरेर आर्थिक समृद्धिको सपना बाँडिरहेका बेला कांग्रेस पार्टी चुपचाप भएको बताए ।

कार्यक्रममा वरिष्ठ नेता पौडेल, प्रमुख सचेतक वालकृष्ण खांड, सचेतक पुष्पा भुसाल, नेता नारायण खड्का, अमरेशकुमार सिंह, पूर्वसचिव कृष्ण ज्ञवाली लगायतले पनि  सरकारको ५ महिने उपलब्धिको भण्डाफोर गरेर जाने धारणा सारेका थिए ।

यता न उताका ती कांग्रेसी नेताले यी सबै विषयले सत्तापक्षलाई केही हुने छैन् । अहिले मधेश सत्ता पक्षसँग टाढिएको छ । ओलीको राष्ट्रवादसँग टाढिएको मधेशलाई प्रचण्डको मधेश प्रेमले मलम लगाइरहेको छ ।

यस्तोमा मधेशले सम्मान गर्न पाउने किसिमको राष्ट्रवाद निर्माण गर्ने नीति र त्यस अनुरूपको समाजवाद उन्मुख आर्थिक नाराहरूको निर्माणमा जोड दिएर आन्दोलन अगाडि बढाउनुपर्ने देखिन्छ ।

सत्तापक्षले मधेश केन्द्रीत राजनीतिक दललाई मिलाइरहेको छ । एउटालाई सरकारमा मिलाएको छ । अर्कोलाई मिलाउन खोजिरहेको छ ।

मधेशबाट टाढिएको शक्तिले टाँसिन खोजेको छ भने आधार क्षेत्र मधेश रहेको कांग्रेसलाई तदनुरूपको नीति बनाउन समस्या हुनु हुँदैन् । तर यसका लागि ठूलै नेताहरूमा सच्चिनुपर्ने अवस्था रहेको छ । 

बीपीको उत्तराधिकारी सबै नेता हुँ भन्छन् तर कसैले उनको सकारात्मक आचरण र विचारको अनुशरण गर्न खोजेका छैनन् ।

ठीक त्यसैगरी भारतका कांग्रेसीहरूले आफू गान्धीवादी गान्धीवादी भएको भन्छन् तर गान्धीका आचरण र विचारको अनुशरण गर्दैनन् ।

पार्टी नेतृत्व युवामा दिने भन्छन् तर कसरी हस्तान्तरण गर्ने त्यसको गृहकार्य गर्दैनन् । पार्टीलाई गुटबाट टाढा राख्ने भन्छन् तर कसैलाई विश्वास गर्दैनन् ।

हरेक ठाउँमा समूह बनाएर चुनाव लडिहाल्छन् । यस्ता विषयमा विचार गर्नुपर्ने अवस्था छ ।  यसमा विचार नपु-याए कांग्रेस पार्टीलाई उकास्न सम्भव नभएको तिनको बुझाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?