नागपञ्चमीमा दर्शनार्थीको घुइँचो

भक्तपुर । नागपञ्चमीको अवसरमा भक्तपुरको प्रसिद्ध चाँगुनारायणलगायत विभिन्न धार्मिक पीठमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ । 

जिल्लाको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि साँझसम्म ठूलो मेला लाग्यो । मेला भर्न भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेबाट बिहानैदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए ।

साउन शुक्लपञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यू, दुबो तथा रायोको गेडा चढाउँनाले घरखेतमा नागले दुःख नदिने धार्मिक विश्वास रहेको छ । आजको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूलढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा रहेको छ । 

चाँगुनारायण मन्दिर नजिकै रहेको शङ्खदहमा पनि स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । यस दहमा स्नान गर्नाले रोग नलाग्ने र लागेको रोग पनि निको हुने जनविश्वास रहेको छ । त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र बाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँ स्थानीयले बिहानैदेखि पुजा अर्चना गरेका छन् । 

आजको दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजा गरी दर्शन गरेमा पूण्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने तथा घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ । भक्तपुर नगरपालिकास्थित नाग पोखरीमा पनि बिहानैदेखि दर्शनार्थीले पूजा, अर्चना गर्नुको साथै दूध चढाउँनेको भीड लागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?