तीन महिनाभित्र ‘एक घर एक वृक्षरोपण’ बनाउने पोखराका मेयर आचार्यको घोषणा

लोकपथ
21
Shares

पोखरा । पोखरा महानगरपालिकाले तीन महिनाभित्र महानगर भित्रका सबै घर कम्पाउन्डमा बिरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ । महानगरका मेयर धनराज अचार्यले अबको तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवसको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन् ।

आइतबार ५०औं विश्व वातावरण दिवशको अवसरमा महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन् ।

केही वर्षअगाडि सेती नदीमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि वृक्षरोपण अनिवार्य रहेको धारणा राखे । उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् ।

पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पिपल मासिएका उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निस्कर्षमा पुगिने बताए ।

‘विगतमा पोखरामा प्रशस्त पोखरीहरु थिए । चौताराहरु थिए । प्रशस्त वरपीलका बिरुवाहरु थिए, ती सबै मासिए’, उनले भने, ‘अब जे–जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडकछेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौँ । अनि पोखरालाई नाराअनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउनेछौँ ।’

मेयर आचार्यले खाली जमिनमा वृक्षरोपण कार्यक्रम गर्न पोखरास्थित सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेका छन् । बृक्षारोपणका लागि बृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका बिरुवाको संरक्षण पनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए । सरकारले निजी जमिनमा रोपिएका रुख कटानको सन्दर्मभा लिएको निर्णयले आम नागरिकलाई आम्दानी दिने विरुवा रोपेर आयअर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै उनले वृक्षारोपण गरेर यसको फाइदा लिन समेत आग्रह गरेका छन् ।

मेयर आचार्यले पोखरा २४ मा रहेको ठूली पोखरी (कश्यप ताल)को संरक्षणका लागि महानगरको तर्फबाट समेत योगदान रहने बताए । वडाको समग्र विकासका लागि वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिसँग बसेरै योजना बनाउने उनले आश्वासन दिए ।

महानगरले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा मेयर आचार्य, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालसहित जनप्रतिनिधि, महानगरका कर्मचारी र स्थानीहरुको सहभागिता थियो ।

पोखरा महानगरपालिका वडा नम्बर २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवशको अवसर पारेर बृक्षारोपण गरिएको हो । वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीका अनुसार विभिन्न प्रजातिका दुइसय भन्दा धेरै विरुवा रोपिएको छ ।

उक्त अवसरमा बोल्दै वडाध्यक्ष अधिकारीले अहिले वडावासी दाजुभाई दिदिबहिनी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनुपर्ने अवस्था रहेको जानकारी दिए । यसको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टैसम्पन्न गरेर नगरवासीलाई खानेपानी उपलब्ध गराउने काममा आफूहरु लागि पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?