भाषा, संस्कृति, पहिचान विषय पाठ्यक्रममा समावेश गर्न माग

नवलपरासी, २९ असोज ।लोक वार्ता परिषद् नेपालको सातौँ राष्ट्रिय सम्मेलनले स्थानीयस्तरका विभिन्न भाषा संस्कृति, पहिचानलगायत विषय पाठ्यक्रममा समावेश गर्न सरकारसँग माग गरेको छ ।यही असोज २२ गतेदेखि कपिवस्तुबाट शुरु भएको सम्मेलनको सत्र नवलपरासीमा आएर आठबुँदे नवलपरासी घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो । सम्मेलनमा लुम्बिनी अञ्चलका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा रहेका ऐतिहासिक, पुरातत्विक, कला, संस्कृति, भाषालगायत विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो । कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका तिलौराकोट, लुम्बिनी, रामग्राम स्तूप, त्रिवेणी धामलगायत स्थानका बारेमा विस्तृत अध्ययन अनुगमन भएको छ ।सम्मेलनमा पुरातात्विक, ऐतिहासिक एवं कला संस्कृतिलगायत विषयमा विभिन्न विज्ञबाट ५६ कार्यपत्र प्रस्तुत भएको थियो । सम्मेलनले तीनवटै जिल्लाका ऐतिहासिक, पुरातात्विक एवं भाषिक, सांस्कृतिक विषयसहित स्थानीय पहिचानको संरक्षणका लागि आग्रह गरेको छ । आगामी वर्षमा आठौँ राष्ट्रिय सम्मेलनका लागि भोजपुर र त्यसको सेरोफेरोका क्षेत्र चयन गरी संयोजकमा डा भक्त राईलाई तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?