विपद् जोखिम न्यूनीकरणका लागि ‘२४ घण्टे’ सेवा प्रवाह गर्ने साकेलाको निर्णय

लोकपथ
195
Shares

खोटाङ । विपद् जोखिम न्यूनीकरणका सन्दर्भमा खोटाङको साकेला गाउँपालिकाले ‘जिरो आवर सर्भिस’को नीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाका ६ जना सदस्यको शपथ ग्रहण, बधाई तथा शुभकामना लगत्तै बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले आपतविपदमा परेका पालिकावासीको सहयोग तथा उद्धारका लागि २४ घण्टा सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढी पहिरो, आगलागी, चट्याङ, दुःख बिमारका कारण जोखिममा परेका नागरिकको सहयोग तथा उद्धारका लागि ‘जिरो आवर सर्भिस’ लागु गर्ने निर्णय गरिएको साकेला गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताए । प्रकोप तथा विपत्तिका समयमा तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउनका लागि कार्यपालिका बैठकले आवश्यक नीति तयार पारेर सञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ ।

कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्छ । भइपरी आउने आपतविपदमा नागरिकलाई २४ घण्टा सेवा गर्ने संयन्त्र छैन, गाउँपालिका अध्यक्ष राईले भने, नागरिक आपतविपदमा परेका समयमा स्थानीय सरकार सुत्दैन । आपतविपदमा सहयोग गरेन वा प्रयत्नसम्म गरेन भने सरकार लोकतान्त्रिक हुन्न ।

गाउँपालिकाले भइपरी आउने समस्यामा परेका नागरिकलाई जुनसुकै समयमा तत्काल उद्धार, राहत तथा पुर्नस्थापनाको लक्ष्य राखेको छ । विपद् जोखिमका लागि ‘जिरो आवर सर्भिस’ नीतिले भविष्यमा प्रकोप तथा विपत्ति न्यूनीकरणमा रणनीति तयार पार्नमा समेत सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राईले बताए ।

विपत्तिमा परेका जनताको सेवाका लागि अहिलेसम्म संघ, प्रदेश वा अन्य स्थानीय सरकारले सोचेकै देखिन्न । अहिलेसम्म कसैले नगरेको काम सुरु गर्न लागेका हौँ, राईले भने, यसबाट प्रकोप तथा विपत्तिको समस्या कसरी सिर्जना हुन्छ, त्यसको समाधान कसरी गर्न सकिन्छ ? प्रेभेन्ट गर्ने उपायका बारेमा अध्ययन गर्न सकिन्छ भन्ने लक्ष्य राखेका छौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?