वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा बीचमा पर्ने निकुञ्जभित्रको पाँच हजार हरियो रुख काटनुपर्ने भएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यका अनुसार सो पाइप लाइन अमलेखगञ्जसम्म विस्तार गर्दा निकुञ्जभित्रका करीब पाँच हजार हरियो तथा वयस्क रुख काट्नुपर्ने बताए । उनले यसको लागि सङ्घीय सरकारले स्वीकृति दिइसकेकाले वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे स्वीकृति दिएपछि रुख काटने प्रक्रिया अघि बढ्ने बताए ।
यसैबीच बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको मोतिहारी–अमलेखगञ्जसम्म पाइप लाइन जमीनमुनि राख्ने काम बाराको जीतपुर बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएको संरचना नभत्काउँदा सो क्षेत्रको काम प्रभावित भएको छ ।
पथलैयादेखि अलौँसम्म सडक विभागले छ लेनको व्यापारिक मार्ग बनाइरहेको र सो मार्गमा पर्ने जीतपुर बजारको करीब डेढ किलोमिटर क्षेत्रमा रहेका घर टहरा हालसम्म नभत्काउँदा उक्त क्षेत्रमा पाइप लाइन बिछ्याउने काम प्रभावित भएको पाइप लाइन कार्यालय बाराले जनाएको छ ।
सडक अतिक्रमण गरी बसेको जीतपुर बजार क्षेत्रको घर टहरा समयमा सम्बन्धित निकायले हटाउन नसक्दा सो क्षेत्रमा काम गर्न बाँकी रहेको छ– इञ्जिनीयर शरदप्रसाद पौडेलले भने, “जीतपुर, परवानीपुर, रजतजयन्ती चोक, गण्डक क्षेत्र बाइपास क्षेत्रलगायतका ठाउँमा जमीनमुनि पाइप राख्ने काम रोकिएको छ ।
भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको पाइप लाइनमध्ये हाल सम्म करीब १७ किलोमिटरसम्म पाइप जमीनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । नेपालतर्फको भारतीय सीमादेखि अमलेखगञ्जसम्म ३६ दशमलब २ किलोमिटर भू–भागमध्ये हालसम्म ठाउँ ठाउँ गरी १७ किलोमिटर पाइप जमीनमुनि राख्ने काम सम्पन्न भएको छ ।
२ सय ७५ करोडको लागतमा निर्माण भइरहेको सो पाइप लाइन निर्माणको लागि भारत सरकारको २ सय करोड तथा नेपाल सरकारको ७५ करोड लगानी रहेको सो कार्यालयले जनाएको छ । प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्रिने र भण्डारणको लागि अमलेखगञ्ज डिपोमा तीन हजार ९ सय किलोलिटर तथा चार हजार १सय लिटर क्षमताको चार वटा ट्याङ्कर निर्माण भइरहेको छ ।
गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरे पछि यसको निर्माण कार्यले गति लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया