काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यान्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ ।
चालू आर्थिक वर्षमा १६ खर्ब ३३ अर्ब रुपैयाँको बजेट ल्याएपनि खर्च गर्न नसकेर संशोधनमार्फत १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँको बनाइएको भन्दै चेम्बरले बजेट यथार्तमा आधारित हुन नसकेको बताएको हो ।
ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधार हुन नसक्दा आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिनाई हुने चेम्बरले जनाएको छ । बजारमा तरलता समस्या अझै सम्बोधन हुन नसकेको, पुँजीगत खर्च हुन नसकेको तथा मूल्यवृद्धिका कारण लक्ष्य भेट्न कठिनाई हुने चेम्बरको ठहर छ ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बाँझो जमिनको उपयोग, कृषि एम्बुलेन्सलाई प्राथमिकतामा राखेर बजेट आउनु सकारात्मक भएको चेम्बरले जनाएको छ । कृषिलाई प्रवर्द्धन गर्न ५ खर्बको कृषि लघुवित्त कोषको स्थापना गर्नुलाई चेम्बरले स्वागत गरेको छ ।
खेतदेखि कारखाना, एकिकृत नमूना कार्यक्रम, औद्योगिक प्रयोजनको लागि ५० वर्षसम्म लिजमा जग्गा, उद्योगलाई विद्युत महशुल २ देखि १५ प्रतिशत छुट एवम औद्योगिक प्रयोजनको लागि जग्गाको हदवन्दी हटाउने जस्ता आकर्षक कदमहरु औद्योगिक प्रवद्र्धनको लागि सकारात्मक रहेको चेम्बरले जनाएको छ ।
चेम्बरले १२ खर्ब ४० अर्ब रुपैयाँको राजस्वको लक्ष्य पनि निकै चुनौतीपुर्ण रहेको जनाएको छ । कोभिड महामारीको प्रभावबाट पूर्ण रुपमा तग्रिन नपाएको निजी क्षेत्र र सरकारका संकुचनकारी आर्थिक नीतिहरुले निजी क्षेत्र निरुत्साहित भएकाले राजश्वको महत्वाकांक्षी लक्ष हासिल हुन कठिन हुने चेम्बरको भनाइ छ ।
तरलताको समस्या रहेको विद्यमान अर्थतन्त्रमा आन्तरिक ऋणको लक्ष्य २ खर्व ५६ अर्व रुपैयाको राखिएकाले यसले तरलताको समस्या झन बिकराल हुन जाने चेम्बरले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत वार्षिक ५ लाख रुपैयाँ सम्म कमाउने व्यक्तिले १ प्रतिशत र दम्पतिको हकमा वार्षिक ६ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत कर लगाउने बजेटमा उल्लेखित व्यवस्थालाई पनि स्वागत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया