काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनले प्रत्येक घरघरमा गएर धूम्रपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताए ।
उनका अनुसार जनप्रतिनिधि र नगरप्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गर्नेछन् । नगरप्रमुख महर्जनले पाटन, पुल्चोक, जावलाखेल र लगनखेल धूम्रपान निषेध क्षेत्र घोषणा गरिसकेको भन्दै अन्य क्षेत्रलाई पनि घोषणाको तयारी गरेको बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले जनचेतनामार्फत धूम्रपान सेवनलाई नियन्त्रण गर्न सकिने बताए ।
उनले मन्त्रालयले मात्र नभएर सबैको सहयोगबाट धूम्रपान नियन्त्रण गर्न सकिने धारणा राखे । उनले मन्त्रालयले गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले धूम्रपान सेवन पछिल्लो पटक युवामा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले धूम्रपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक सङ्घसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नुपर्ने धारणा राखे ।
‘विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूम्रपान निषेध अभियान सञ्चालन गर्नु पर्दछ’ उनले भने, ‘धूम्रपान सेवनको रोकथाम गर्न स्थानीय तहसक्षम बनाउनुपर्दछ ।’
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवले धूम्रपानको सेवन नगर्ने हो भने अहिले मृत्यु हुनेभन्दा ५० प्रतिशत मानिसको ज्यान जोगाउन सकिने बताए । उनका अनुसार प्रत्येक सात जनामा एक जनाको धूम्रपान सेवनले मृत्यु हुने गरको छ । उनले सुर्तीजन्य पदार्थको सेवनबाट स्वास्थ्यमा १ दशमलव ८ प्रतिशत कुल ग्रार्हस्थ्य उत्पादन घटेकोले राज्यलाई नै नोक्सान भएको बताए ।
उनले सुर्तीजन्य पदार्थको सेवन छुटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले १५ दिनभित्रमा ललितपुरका विद्यालयवरपर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने बताए ।
उनले विद्यालयको सय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन अनुसार नै १५ दिनभित्र विद्यालय वरपर बिक्रीवितरणमा रोक लगाइने बताए । उनले चुरोट सेवनको लत युवामा बढेकोले कडाइका साथ नियन्त्रण गर्ने बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले चुरोटको सेवन छुटाउन कारबाही नभएर जनचेतनामार्फत छुटाउन सकिने बताए । उनले चुरोट छुटाउने औषधि नेपालमा प्रयोग भए तापनि सफल नभएको भन्दै जनचेतनामार्फत नै छुटाउन सकिने बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले चिया पसलमा चुरोट अत्यधिक सेवन गर्ने पाइएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । एक्सन नेपालमा अध्यक्ष आनन्दबहादुर चन्दले वार्षिक २७ हजार मानिस सुर्तीजन्य पदार्थ सेवन गर्नाले ज्यान जाने गरेको भन्दै सरकारले समयमा नै सुर्तीजन्य पदार्थको सेवन रोकथाम गर्नुपर्ने धारणा राखे ।
भोलि विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालसहित विश्वभर ‘सुर्तीजन्य पदार्थ त्यागौँ स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ मनाइँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया