तारा एयरको विमान दुर्घटना अपडेट : सबै यात्रुको शव भेटियो

लोकपथ
1.3k
Shares

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।

फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । बाँकी शव ल्याउने क्रम जारी छ ।खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।

शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको छ भने फेला परेका शवको पहिचान भइसकेको छैन ।

कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । शवको मुचुल्का तयार पारी शव काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान भेटिएको थियो ।

पोखराबाट आइतबार बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १० : ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?