काठमाडौं । पहिले रत्नपार्कका चोकमा विक्रीका लागि राखिने अश्लील किताबका बजार त अहिले बन्द भइसकेका छन् । तर पछिल्लो समय युट्युबमा अश्लील क्रियाकलाप बढ्दै गएको छ । अब भने यसरी चलचित्र तथा रेकर्डमार्फत अश्लीलता फैलाउनेलाई सरकारले कानूनी दायरामा ल्याउने भएको छ ।
भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा अश्लील किताब, प्रचार इत्यादि बनाउन नपाइने कानून बनेको छ ।
ऐनमा भनिएको छ, ‘शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन ।’
यदि कसैले शारीरिक कामोत्तेजना बढाउने कार्य गरेको खण्डमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनसक्ने ऐनमा उल्लेख छ ।
त्यस्तै अश्लील वस्तु विक्री वितरण गर्ने उद्देश्यले आफूले त्यस्ता साम्रगी लैजाँदा पनि कानूनको फन्दामा पर्न सकिनेछ । त्यस्तो साम्रगी भाडामा दिन, सर्वसाधारणलाई देखाउन या गलत नियतले आफ्नो साथमा राख्न पनि नपाइने ऐनमा लेखिएको छ ।
तर, वैज्ञानिक, शैक्षिक, कलात्मक, साहित्यिक, अनुसन्धानमूलक, ज्ञानवर्र्धक महत्त्व वा अभिरुचिको वा धार्मिक प्रयोजनका लागि राखिएको वा बनाइएको कुनै कृतिको हकमा भने यो नियम लागू हुने छैन ।
यसै गरी दश वर्षभन्दा माथिका व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक अन्य कारणले सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप या व्यवहार गरे, अश्लील शब्द बोले उक्त व्यक्तिलाई ६ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना या दुवै सजाय दिन सकिने ऐनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया