राजपा स्टेशन बालुवाटार

काठमाडौं : संघीय समाजवादी फोरम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएयता राष्ट्रिय जनता पार्टीको स्टेशन बालुवाटार भएको छ ।

अध्यक्ष मण्डलका नेताहरूले प्रधानमन्त्रीसँग भेट गर्ने समय मिलाएर  भेट गर्ने अनि फर्किने बाहेक केही गर्न नसकेको पार्टीका दोस्रो पंक्तिका नेताहरूको भनाइ छ ।

दोस्रो पंक्तिका नेताहरूमा केही सरकारमा जानुपर्ने तर्क गरिरहेका छन् भने केहीले सरकारबाट हटेर आन्दोलनमा जाने तर्क गरिरहेका छन् ।

राजपालाई सरकारमा लानका लागि कानेखुसी तीव्र भएको चाल पाएलगत्तै फोरमले दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी भयो ।

राजपाका नेताहरूले यसलाई फोरमका नेताको गद्दारी र धोका भनिरहेका छन् । तर राजपाकै केही नेताहरूले यसलाई समयमा निर्णय गर्न नसक्ने अध्यक्ष मण्डलको कमजोरी भनेर औंल्याउँछन् ।

पार्टीका महासचिव केशव झाले पार्टी छिट्टै सरकारमा जाने बताएका थिए । उनले भनेका थिए – सरकारमा सहभागी हुने वातावारण बन्ने र राजपा सरकारमा जानेछ । 

तत्काल नाम नखुलाउने पार्टीका एक नेताका अनुसार महासचिव झाले यो कुरो त्यसै भनेका थिएनन् ।

अध्यक्ष मण्डलका शीर्ष नेताहरू मध्ये केहीले सरकारमा जान सक्ने अवस्था अनुकूल बन्दै गएको देखेको तर केहीले जान नहुने  अडानमा रहेकाले सरकारमा जाने समूहको लबिङ बलियो पार्न यस्तो बोलेको ती नेताको बुझाइ छ ।

महासचिव झाले यो भन्नु अघि अर्का महासचिव मनिष सुमनले फोरमसँगको सहकार्य तोडेर प्रदेश नम्बर २को सरकारबाट अलग हुने निर्णय पार्टीले छिट्टै गर्न लागेको बताएका थिए ।

सुमनले पनि यो अभिव्यक्ति त्यसै भनेका थिएनन् । उनले पनि आन्दोलनमा जाने आन्दोलनमा जाने पार्टी पंक्तिको नाडी छाम्न र शीर्ष नेताहरू भित्रको चलखेल बुझ्न यसो गरेको तर्क नाम नखुलाउने ती नेताको तर्क छ ।

यी दुई नेता अध्यक्ष मण्डल भित्रका प्रभावशाली नेता निकटका मानिन्छ । राजेन्द्र महतो निकटका सुमन मानिन्छन भने झा शरतसिंह भण्डारी पक्षधर मानिन्छन् ।

पछिल्लो समय महतो र भण्डारी सरकारमा जाने पक्षमा थिए भने राजकिशोर, अनिल झाले जान नहुने पक्षमा वकालत गरिदिए ।

यी दुई नेताले पार्टी सरकारमा जाने अवस्था आएमा महतो र भण्डारी नै सरकारमा सहभागी हुने देखेका थिए । संयोजक ठाकुर सरकारमा जाने पक्षमा देखिएका थिएनन् ।

यस्तो अवस्थाका बारेमा प्रधानमन्त्री ओली जानकार रहेको ती नेता बताउँछन् । सरकार बनाउने बेलामा ओलीले राजपालाई पनि सरकारमा लाने योजनामा थिए ।

तर राजपाले रेशम चौधरीलाई सपथ खुवाउनुपर्ने अडान लिएपछि प्रधानमन्त्रीले त्यसका लागि समय लाग्ने बताएर पछि हटे ।

ओली आफ्नै पार्टीको व्यवस्थापनमा लागेका छन् । त्यसैले यस्ता कुरामा ध्यान दिन नसकेको जानकारी ठाकुरलाई बताइसकेका छन् ।

राजपाका नेता आइतबार बेलुका प्रधानमन्त्रीसँग भेटेर फेरि त्यही आग्रह गरे जुन आग्रह गर्दै आएका थिए ।

प्रधानमन्त्रीले पनि त्यही आवश्वासन दिए जुन आश्वासन दिदै आएका थिए ।

राजपाका नेताहरूले  प्रधानमन्त्रीको भेटमा रेशम चौधरी र अभिराम शर्मा लगायत मधेश आन्दोलनका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन, शहिद तथा घाइते परिवारलाई  क्षतिपूर्ति दिन र संविधान संशोधनबाट राजनीतिक समस्या समाधान गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले हुन्छ भनि फिर्ता पठाएका थिए ।

ती नेता भन्छन् “ राजापको गाडी बालुवाटर स्टेशनबाट सिंहदरबार छिर्ने हो कि माइतीघर मण्डला पुग्ने त्यो हेर्न भने बाँकी छ ।”

राजपाका सहमहासचिव डा. सुरेन्द्र झाले आन्दोलनकारी शक्ति कमजोर भएको स्वीकार गर्छन् ।

उनी भन्छन् “ माओवादी आन्दोलनका नेता प्रचण्ड तथ पुष्पकमल दाहाल बनेर एमालेसँग विलय भएको दुष्टान्त हामी अगाडि छँदैछ ।

अर्को तर्फ हामीसँगै मिलेर आन्दोलन गरेको शक्ति फोरम सरकारमा सहभागी भएको छ । यसले राजनीतिक अवस्थालाई पेचिलो बनाएको छ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?