नेपाल बैंक लुम्बिनी र कर्णाली प्रदेशको बजेट गोष्ठी सम्पन्न

लोकपथ
52
Shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । यही जेठ ११ गते देखि १३ गते सम्म पोखरामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, लुम्बिनी र कर्णाली प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ४४ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा बिकास डिभिजनले संयुक्तरुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो ।

बैंक व्यवस्थापनले शाखाहरुसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढि हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ बढावा दिने लगायतका विषयहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै टिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंककोरुपमा अगाडि आएको बिचार व्यक्त गरेका थिए ।

सम्पूर्ण नेपालीहरुमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको विश्वास जित्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरु सदा ऊर्जाशिल भई अगाडि बढिरहने विश्वास समेत उनले व्यक्त गरे । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धक पासाङ दोर्जे शेर्पा, लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुषाल, कर्णाली प्रदेश प्रमुख आश्विन पुडासैनी, तालिम तथा बिकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी लगायत प्रधान कार्यालय बजेट कमिटिका अन्य सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?