घटना पुष्टि हुन नपाउँदै श्रद्धाञ्जली दिन हतारो : गंगा दाहालदेखि हर्क साम्पाङसम्म

लोकपथ
107.6k
Shares

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि यतिबेला खोजीकार्य जारी रहेको छ ।

आइतबार बिहान ९ः५५ बजेको समयमा पोखराबाट उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको जहाज मुस्ताङको लेते भन्ने ठाउँमा पुगेपछि सम्पर्कविहीन भएको विमानस्थल प्रशासनले जनाएको छ ।

खराब मौसमका कारण उद्धारका लागि पठाइएको हेलिकोप्टर समेत फर्किएका छन् । भने मौसम विभागले केही दिन मौसम सुधार नहुने बताएको छ ।

१९ जना नेपाली, ४ जना भारतीय र २ जना अन्य विदेशी नागरिक बोकेको जहाज सम्पर्कविहीन भएको छ ।

विमानको बारेमा आधिकारीक पुष्टि हुन बाँकी रहँदा सामाजिक सञ्जालमा पुरानो तस्बिर राखेर श्रद्धान्जली दिनेहरुको हतारो देखिएको छ ।

पोखरा विमानस्थल प्रशासन, जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुस्ताङका प्रहरी, लेते प्रहरी र त्यँहीका स्थानीयले समेत विमानको अवस्था अज्ञात रहेको बताइरहेका छन् । तर सामाजिक सञ्जालमा भने श्रद्धाञ्जलीको हतारो देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विमान दुर्घटना भएको पुरानो तस्बिर राखेर श्रद्धान्जली दिइरहेका छन् ।

यसरी सर्वसाधारण मात्र छैनन् त्यसमा पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवदेखि नेता र जनप्रतिनिधिहरु समेत रहेका छन् । त्यसो त विमानको अवस्थाबारे खोजीकार्य भइरहँदा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की स्वकीय सचिव गंगा दाहालले घटनाको पुष्टि नहुँदै श्रद्धाञ्जली दिएकी छिन् । उनले पोस्ट गरेको एक मिनेटमै २०८ लाईक र रियाक्ट, ५२ कमेन्ट र ४ वटा सेयर भएका थिए । तर केही बेरमा भने उनले आफ्नो स्ट्याटस हटाएकी छिन् ।

त्यसरी श्रद्धाञ्जली दिनेमा गंगा दाहाल मात्र होइन धरान उपमहानगरपालिकाका नवनिर्वाचित हर्क साम्पाङ राईले समेत घटना पुष्टि नहुँदै श्रद्धाञ्जली दिएका छन् । उनले मृत आत्माप्रति श्रद्धाञ्जली दिँदै पुराना जहाज हटाउँदै नयाँ जहाज किन्न समेत सरकारलाई सुझाव दिएका छन् ।

यता सामाजिक सञ्जालमा पुराना तस्बिर राखेर श्रद्धाञ्जली दिनेहरुको होडबाजी नै चलेको छ । त्यसो त यो अहिले मात्रै भएको भने होइन । यसअघि पनि चर्चित व्यक्तिहरुको मृत्युलाई लिएर सामाजिक सञ्जालदेखि समाचारका शीर्षकहरु समेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?