गोनपामा कार्यपालिका सदस्य निर्वाचन : कांग्रेस-नेकपा एसको उम्मेदवारी, अन्य दललाई हारको डर ?

लोकपथ
611
Shares

गोरखा । यही १९ जेठमा हुने कार्यपालिका सदस्यको निर्वाचनका लागि गोरखा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको मात्र उमेदवारी परेको छ । आठ जना सदस्य पदको निर्वाचनका लागि मनोनयनको अन्तिम समयसम्म पनि दुई दलको तर्फबाट मात्र उम्मेदवारी परेको हो । कांग्रेसको तर्फबाट सात जना र नेकपा एसको तर्फबाट एक जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट निर्वाचित महिला सदस्यमध्येबाट रञ्जिला श्रेष्ठ, सावित्रा थापा पुलामी, अप्सरा बयलकोटी, कमला भट्ट, सीता मग्राती र दलित तथा अल्पसंख्यकको मनोनीत तर्फबाट पम्फा गान्धारी र पवित्रा विकको उम्मेदवारी परेको छ । यस्तै, नेकपा एसको तर्फबाट रामबहादुर रम्तेलले मनोनयन दर्ता गरेका छन् ।

गोनपामा कार्यपालिका सदस्यको आठ पदका लागि निर्वाचन हुँदै थियो । तर, आठ जनाको मात्रै उम्मेदवारी परेपछि चुनाव नहुुने भएको छ । मनोनयन दर्ता गरेका सबै सदस्यहरू निर्विरोध चयन हुने भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन ।

कार्यपालिकामा मेयर, उपमेयरसहित २४ जना सदस्य रहन्छन् । कांग्रेसको कार्यपालिकामा स्पष्ट एकल बहुमत भएको छ । कांग्रेसको उपमेयरसहित १४ जना सदस्य कार्यपालिकामा हुने भएका छन् भने माओवादीको मेयरसहित ६ जना, नेकपा एमालेको २, नेकपा एसको १ र स्वतन्त्र १ रहने पक्का भएको छ ।

कार्यपालिका सदस्यमा ‘नेकपा एस’ को इन्ट्री

गोनपाको कार्यपालिका सदस्यमा नेकपा एसले इन्ट्री मार्ने पक्का भएको छ । नेकपा एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एसको तर्फबाट गोनपाको कार्यपालिका सदस्यमा रामबहादुर रम्तेलले इन्ट्री हुने भएको हो ।

गोनपामा नेकपा एसले नेपाली कांग्रेसलाई समर्थन गरेर निर्वाचनमा होमिएको थियो । कांग्रेसलाई समर्थन गरेर चुनाव लडे पनि एसको भागमा एक जना वडा सदस्य समेत परेको थिएन ।

कांग्रेसले सल्लाह गरेर नै नेकपा एसलाई एक जना सदस्य दिने निर्णय गरेर मनोनयन दर्ता गराउन लगाएको स्रोत बताउँछ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा गोनपामा कांग्रेसलाई समर्थन गरे बापत नेकपा एसले एक जना कार्यपालिका सदस्य पाउने निश्चित भएको छ । कांग्रेसको समर्थन नपाएको भए नेकपा एसको गोनपामा कुनै प्रतिनिधी हुँदैनथे ।

अन्य दललाई चुनाव अघि नै हारको डर, उम्मेदवारी नै दर्ता गरेनन्

गोनपाको कार्यपालिका सदस्य निर्वाचनका लागि कांग्रेस र नेकपा एसबाहेक अन्य दलले मनोनयन नै दर्ता गरेका छैनन् । मेयर उपमेयर सहित ७२ जना जनप्रतिनिधी मध्य कांग्रेस एक्लैले उपमेयरसहित ४६, माओवादीले मेयरसहित १८, एमालेले ७ र एक स्वतन्त्र उम्मेदवारले जनप्रतिनिधी जितेका थिए ।

कार्यपालिका सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधीले मात्रै मतदान गर्न पाउँछन् । गोनपामा माओवादी, एमाले र स्वतन्त्र मिल्दा पनि कांग्रेससँग टक्कर गर्न सक्दैनन् । कांग्रेसको स्पष्ट एकल बहुमत छ । त्यसैले कांग्रेस र नेकपा एस वाहेक अन्य दलहरुले कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गरेर हार ब्यहोर्नु भन्दा उम्मेदवारी नै दर्ता नगर्नु उचित ठानेको देखिन्छ ।

नेकपा एमालेका गोनपा नगर कमिटी अध्यक्ष देबी बहादुर बस्नेत भन्छन्,‘एमालेको निर्वाचित जनप्रतिनिधीको संख्या कम छ । अन्य दलसँग मिलेर जाँदा पनि कांग्रेससँग जित्ने अवस्था देखिएन । मनोनयन दर्ता गरेर हार ब्यहोर्नु भन्दा नगर्नु नै ठिक हुन्छ भनेर यस विषयमा हामीले पार्टीमा कुनै छलफल नै गरेनौँ ।’

एमाले मात्रै हैन, कार्यकारी पद मेयर जितेको माओवादीले पनि निर्वाचनमा गए हार्ने डरकै कारण कार्यपालिका सदस्यमा उम्मेदवारी नै दिएन । कांग्रेसबाहेक सबै दल मिल्दा पनि चुनाव जित्ने अवस्था नदेखेपछि माओवादीले उम्मेदवारी नै नदिएको हो ।

‘जसको जहाँ सम्भावना छ उसले त्यहाँ मात्रै दाबी गर्ने सल्लाह भयो । मनोनयन दर्ता गरेको खण्डमा चुनाव हार्ने स्थिती पनि थियो । त्यसैले पार्टीमा पनि सहमति भयो, पार्टीमा भएकै सहमति अनुसार उम्मेदवारी दिएनौँ’, माओवादीका गोनपाको नगर कमिटी अध्यक्ष एवं गोनपाका मेयर कृष्ण रानामगरले भने ।

मेयर गुमाएर पनि कांग्रेसले गोनपामा ‘साख’ गुमाएन

स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसले गोनपामा मेयरसहित स्पष्ट बहुमत ल्याएको थियो ।

तर, भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा भने कांग्रेसले आफ्नो मेयर पदका उम्मेद्वारलाई जिताउन सकेन् । पूर्वमेयर समेत रहेका राजनराज पन्त माओवादीका कृष्ण रानामगरसँग पराजित भए । कांग्रेसले मेयर गुमायो । तर, गोनपामा आफ्नो पार्टीको ‘साख’ भने गुमाएको छैन् ।

उपमेयरसहित कार्यपालिका र नगरसभामा एकल बहुमत पायो । गोनपाको नगर सभामा पनि कांग्रेसले स्पष्ट एक बहुमत पाएको छ । गोनपाको नगरसभामा मेयर, उपमेयरसहित ७५ जना सदस्य रहने छन् । जसमध्य कांग्रेससँग एक्लैको ४८ जना सदस्य हुनेछन् । माओवादीको १८, एमालेको ७, स्वतन्त्र १ र नेकपा एसको १ जना सदस्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?