कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’

काठमाडौँ, २९ असोज- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शनिबार नवौँपटक सत्तारोहण गरेका छन् । साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानमन्त्रीको सपथ लिएसँगै थापा नवौँपटक मन्त्रीको कुर्सीमा आसीन भएका हुन्, नयाँ पत्रिकामा खबर छ ।राष्ट्रपति भण्डारीले थापासँगै अन्य तीनजनालाई मन्त्रीको सपथ दिलाएकी छन् । राप्रपा सांसदत्रय जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले मन्त्रीको सपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाबाट थापालाई उपप्रधानन्त्री, चन्द, गिरी र विक्रमबहादुर थापालाई मन्त्री र कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन ।थापाको ‘मुसा प्रवृत्ति’देउवा पहिलोपटक प्रधानमन्त्री भएको वेला थापाले कानुन, न्याय, तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्री बन्ने यात्रा सुरु गरेका थिए । थापाले विगतमा आफू मन्त्री भएकै वेला संसद्मा पुगेर आफ्नो प्रधानमन्त्रीविरुद्ध मतदानसमेत गरेका छन् । थापा १८ असोज ०५४ मा राप्रपा–एमाले गठबन्धन बनेर प्रधानमन्त्री बनेका आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।तर, चन्द नेतृत्वको सरकारविरुद्ध राप्रपाकै सूर्यबहादुर थापा समूहले कांग्रेसको समर्थनमा अविश्वास प्रस्ताव पेस ग¥यो । कांग्रेसले सूर्यबहादुरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमति जनाएको थियो । थापाले प्रधानमन्त्री चन्दविरुद्ध मत हाले । आफ्नै मन्त्रीले आफूविरुद्ध संसद्मा मत हालेपछि चन्दले संसद्लाई सम्बोधन गर्दै ‘मुसा प्रवृत्ति’ को कुरा उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?