एक सातापछि प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । झण्डै एक साताको स्थगतपछि प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । । 

सरकारले बिजनेश दिन नसकेपछि गत सोमवार बसेर बैठक आजसम्मका लागि स्थगित भएको थियो । संसद सचिवालयमा दर्ता गरिएका थप २ विधेयक परिपक्क भएपछि आजको बैठकमा सरकारले ती विधेयक टेबुल गर्न लागेको हो । बैठक दिउँसो एक बजेका लागि बोलाईएको छ ।

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक टेबुल गर्नुहुने संघीय संसद सचिवालयले जनाएको छ । 

यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सो विधेयक गत सोमवारको प्रतिनिधिसभा बैठकले दफावार छलफलका लागि समितिमा पठाएको थियो । 

सोही बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण विधेयक र बीमा विधेयक पनि दफा बारे  छलफलका लागि पठाएको थियो ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?