सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ

लोकपथ
429
Shares

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई हैरानी र चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान समेत पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पक्राउमा रौतहटको दुर्गा भवानिपुर गाउँपालिका वडा नम्बर ४ घर भइ प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत प्रहरी जवान कृष्ण कुमार यादव पक्राउ परेका हुन् । उनलाई जेठ ११ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट बिहीबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोको भनाइ छ ।

त्यसैगरी विराटनगर महानगरपालिका वडा १७ घर भई जिल्ला सुनसरीको धरानमा बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीमाथि पनि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरङ्ग तस्वीरहरु आफन्त र साथीभाइलाई पठाई चरित्र हत्या गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?