काठमाडौं-भदौभित्रै महासमिति बैठक राख्ने निर्णय गरेको नेपाली कांग्रेसले अलमलका बीच तिहारपछि मात्रै महासमिति बैठक राख्ने भएको छ । तीनै तहको निर्वाचनपछि प्रतिपक्षमा पुगेको कांग्रेस पार्टीभित्रका आन्तरिक संगठन निर्माणमा पनि कमजोर बन्दै गएका बेला पूर्वनिर्धारित महासमिति बैठक सारेर कांग्रेसले तिहारपछि महासमिति राख्ने भएको हो ।
महासमिति बैठकमार्फत पार्टीको विधान संशोधन गर्ने कांग्रेस तयारी छ । तर, विधान संशोधन गर्न बनाइने मस्यौदा समिति गठनका विषयमा नै नेताहरूबीच सहमति जुटेको छैन ।
सो समिति नबन्दासम्म महासमितिको औचित्य नहुने नेताहरूले नै बताउँदै आएका छन् । विधान समितिले नै पार्टीको नयाँ संरचनाअनुसारको विधानलाई ड्राफ्ट गर्ने काम गर्छ । समितिले बनाएको विधानलाई महासमितिमार्फत पारित गर्नुपर्छ ।
कांग्रेस उच्च स्रोतका अनुसार अब महासमिति बैठक तिहारपछि हुनेछ । ‘विधान संशोधन साधारण संशोधन होइन, पहिले गरिएजस्तो सामान्य संशोधनले पनि अब चल्नेवाला छैन, विधान संशोधनका लागि बनाइने समितिलाई पनि आवश्यक समय चाहिन्छ, त्यसअनुसार मात्र महासमिति कहिले हुने भन्ने टुंगो लाग्छ, सम्भवतः तिहारपछि हुन्छ,’ कांग्रेस उच्च स्रोतले भन्यो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया