राजनीतिक दललाई चित खुवाएका यी स्वतन्त्र उम्मेदवार, जाे नेताभन्दा चर्चित भए

लोकपथ
4.5k
Shares

काठमाडौं । यस पटक १३ पालिकामा प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार स्थानीय जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन् । जसमा ४ जना पालिका उपप्रमुख, १ सय ३६ जना वडाध्यक्ष र २ सय ३२ वडा सदस्य छन् ।

२०७४ को निर्वाचनमा २ सय ३३ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । जसमा ६ पालिकाप्रमुख, ५ जना पालिका उपप्रमुख, ९१ वडाध्यक्ष र १ सय ३१ वडा सदस्य चुनिएका थिए । २०७४ र अहिलेको आँकडा हेर्ने हो भने जनताको विश्वास राजनीतिक दलका प्रतिनिधिभन्दा पनि स्वतन्त्र व्यक्तिप्रति बढी ढल्किएको देखिन्छ ।

अघिल्लो चुनावको तुलनामा यस पटक जित्ने स्वतन्त्र उम्मेदवारको संख्यामा १५२ ले बढोत्तरी भएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा २ जनाले नगरपालिकाको प्रमुख र ४ ले गाउँपालिकाको प्रमुखमा जितेकोमा यस पटक त्यो संखया बढेर १३ पुगेको छ । अझ यस पटक त तीन उपमहानगर र एक महानगरमा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भएका छन् ।

यस पटक ६ महानगरमध्ये काठमाडौं महानगरका बालेन्द्र साह विजयी भएका छन् । ११ उपमहानगरमध्ये धनगढी उपमहानगरमा गोपाल हमाल, धरान उपमहानगरमा हर्कराज राई (साम्पाङ) र जनकपुर उपमहानगरमा मनोजकुमार साह सुडी विजयी भएका छन् ।

त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिकामा प्रह्लाद क्षेत्री, जुम्लाको चन्दननाथ नगरपालिकामा राजुसिंह कठायत, कालीकोटको खाँडाचक्र नगरपालिकामा कमल शाही स्वतन्त्रबाट निर्वाचित भएका छन् ।

बैतडीको डिलासैनी गाउँपालिकामा सन्तोषप्रकाश जोशी, भोजपुरको साल्पासिलिछो गाउँपालिकामा दौलथकुमार कुलुङ, कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा मोहनबहादुर केसी, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपाकिलामा ज्ञानेन्द्र रुम्दाली, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा कार्मा छोइबेल गुरुङ र हुम्लाको चंखेली गाउँपालिकामा प्यारीलाल शाही स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका हुन् ।

यहाँ स्वतन्त्र उम्मेदवार विजयी भए भनेर भनिरहँदा जनकपुरका उम्मेदवार मनोजकुमार साह सुडी बागी हुन् । उनले कांग्रेसबाटै निकालिएको विजय र्‍यालीमा पनि सहभागिता जनाइसकेका छन् भने उनी आफैँले पनि आफू कांग्रेसी नै रहेको समेत स्वीकार गरिसकेका छन् । त्यस्तै बर्दिबासका प्रह्लाद क्षेत्री पनि माओवादीबाट पाएको टिकट खोसिएपछि स्वतन्त्रबाट उम्मेदवार बनेको थिए । चन्दननाथ नगरपालिकाका राजुसिंह कठायतले पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । खाँडाचक्र नगरपालिकामा जितेका कमलबहादुर शाही पनि एकीकृत समाजवादीका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?