बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न प्रतिबद्ध छौँ : मन्त्री झाँक्री

लोकपथ
13
Shares

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरे डाडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । उनले काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।

बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरे डाडाँ ल्याण्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताइन् । बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने उनले स्पष्ट पारिन् ।

छलफलका क्रममा धादिङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूमि पाठकले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययन अनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताए ।

यस्तै, अर्का सांसद हितबहादुर तामाङले बन्चरे डाडाँ ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए । उनले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताए ।

धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए । उनले साइटमा फालेको फोहोर उचित रूपमा व्यवस्थापन गर्नुपर्ने बताए ।

यस्तै नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताए । शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्व अन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने समेत बताए ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताएका छन् । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्नका लागि तत्कालीन समस्यालाई नजरअन्दाज नगर्न उनीहरूले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?