बानेश्वर क्षेत्रका होस्टलमा प्रहरीकाे छापा

काठमाडौँ- वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास) लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु गरिएको छ ।

महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले सो अनुगमन गरिएको हो ।

बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, दुव्र्यसनी सेवन आदिको जनगुनासो र उजुरीका आधारमा होस्टलको विकृति नियन्त्रण गर्न अभियान चलाएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेले जानकारी दि|ए ।

‘बानेश्वरको टोल–टोलमा प्रहरी अभियान’ अन्तर्गत होस्टलको संयुक्त अनुगमन गरिएको र त्यहाँ विकृतिजन्य क्रियाकलाप पाइएको उनले उल्लेख गरे ।

विभिन्न ३९ वटा कार्यक्रम लक्षित गरी तीन महिने अभियान गत साउन १ गतेदेखि शुरु भएको थियो । हालसम्म १० वटा कार्यक्रम सम्पन्न भएको वृत्तले जनाएको छ ।

अनुगमनअन्तर्गत आज बानेश्वरका केही होस्टलका श्ययामा गाँजा, तास, परिवार नियोजनका अस्थायी साधनलगायत विकृतिजन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ । धेरै होस्टल दर्ता नगरी सञ्चालनमा रहेको र कतिपय होस्टलले दर्ता भए पनि नवीकरण नगरेको पाइएकाले तीनलाई ताकेता गर्न सम्बन्धित वडा कार्यालयले जिम्मेवारी लिनेछन् ।

अनुगमनमा अमर्यादित गतिविधिमा संलग्न व्यक्ति र सञ्चालकलाई एक पटकका लागि सचेत गराएर छाडिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए  ।

होस्टललगायत अन्य क्षेत्रमा भएको विकृति हटाई मर्यादित समाज निर्माणको अभियानलाई निरन्तरता दिइने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?