बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन थालियो फोहोर

लोकपथ
507
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बञ्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।

नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम थालेको थियो । बञ्चरेडाँडामा फोहोर खसाउन थालिएसँगै लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारदेखि उठ्न थालेको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बञ्चरेडाँडातर्फ गएका छन् ।

हाल काठमाडौं र ललितपुरबाट १०० वटा ट्रक फोहोर बञ्चरेडाँडामा खसाइएको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उहाँले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए ।

मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौँको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?