ओलीको हुङ्कार नटेरेका दुई उपमहानगर : जहाँ टिकेन एमालेको गढ

लोकपथ
3.4k
Shares

काठमाडौं । यस पटकको स्थानीय तहको निर्वाचनमा धेरै उथलपुथल देखियो । कतै स्वतन्त्र उम्मेदवारको दबदबा देखियो भने कतै राजनीतिक दलमाथि पार्टीभित्रकै वितृष्णा खुलारुपमा देखियो । देशका मुख्य पार्टी भन्नेहरुको हैसियत स्वतन्त्र उम्मेदवार र जनताले मतमार्फत देखाइदिए ।

यस पटक ‘यो मेरो लालकिल्ला हो’ भन्ने पार्टीहरुको गढ कतै भत्किए भने कतै टेको लगाउनुपर्ने अवस्थामा पुगे । यसपालिको चुनावले एमालेको दुई मजबुद मानिएको उपमहानगरमा कांग्रेस प्रवेश गरेको छ ।

अझ रोचक त के छ भने, एमालेको गढमा कांग्रेस र कांग्रेसको गढमा एमाले विजयी हुँदा कतिपय पार्टीको त यस पटक गढ नै फेरियो ।

हेटौंडा उपमहानगर

२०४९ देखि ०७९ सम्म एकछत्र राज गर्दै आएको एमालेले हेटौंडामा ३० वर्षपछि आफ्नो नेतृत्व गुमाएको छ । अझ भन्नुपर्दा एमालेलाई आफैँबाट छुट्टिएको एउटा शक्ति अर्थात् नेकपा एसले नै हराइदिएको छ ।

२०४९ देखि २०७४ सम्म हेटौंडाको मेयर र उपमेयरमा एमालेले मात्र जित्न सफल भएकोमा यस पटक हेटौंडाको इतिहास बदलिएको छ । २०४९ मा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै मेयरमा डोरमणी पौडेल र उपमेयरमा हरिबहादुर महतले विजय हासिल गरेका थिए ।

२०५४ को स्थानीय निकायको निर्वाचनमा पनि पौडेल र महत नै दोस्रो कार्यकालका लागि चुनिएका थिए ।

त्यस्तै २०७४ को स्थानीय तह निर्वाचनमा दुई कार्यकाल उपमेयर भएका हरिबहादुर महत मेयरमा चुनिए भने उपमेयरमा मीनाकुमारी लामा विजयी भइन् ।

३० वर्ष एकछत्र राज गरेको एमाले यस पटक हेटौंडाबाट झोलीझ्याम्टा बोकेर हिँड्न बाध्य भयो । २०७४ मा एमालेबाट उपमेयर बनेकी मीनाकुमारी लामा यस पटक एमाले फुटेर बनेको एकीकृत समाजवादी पार्टी (एस) बाट मेयरमा चुनिएकी हुन् ।

हेटौंडामा ३० वर्षसम्म कसैले हराउन नसकेको एमालेलाई यस पटक एमालेले नै हरायो भन्दा अत्युक्ति नहोला । यो सफलता हात पारेको छ, नेकपा एकीकृत समाजवादीले । साथै देशले मीनाकुमारी लामाको रुपमा उपमहानगरमा एकमात्र महिला मेयरसमेत पाएको छ ।

बुटवल उपमहानगर

लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकामा पनि यस पटकको स्थानीय तहको चुनावदेखि एमालेको दबदबा समाप्त भएको छ । एमालेको दबदबा समाप्त पार्न सफल भएको छ, नेपाली कांग्रेस । भलै यहाँ पनि गठबन्धन थियो तर, लडाइँ भने एमाले र कांग्रेसको मात्र थियो ।

२०५४ देखि बुटवलमा हालीमुहाली गर्दै आएको एमाले यस पटक नेतृत्व तहमा रोकिएको मात्र छैन वडामा पनि खुम्चिएको छ । २०७४ मा ११ वटा वडामा नेतृत्व लिएको एमाले यस पटक ५ वडामा सीमित भएको छ ।

उपमेयरमा भने एमालेकी सावित्रीदेवी अर्यालले जित निकालेकी छिन् । यहाँ उपमेयरमा पाएको सफलतामा नै एमाललेले चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?