सहकारी संस्थामा चोरीको घटना बढ्दो, ४९ लाख चोरी, सहकारीकर्मी चिन्तित

चितवन । चितवन जिल्लामा विगत ६ महिनामा जिल्लका नौ  सहकारी संस्थामा चोरी भएको छ ।

 ति सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ । 

सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट रु ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट रु १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट रु ५० हजार, माडीको सहनशील महिला सहकारीबाट रु एक लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि सहकारीबाट रु ३६ हजार तथा बछ्यौलीकै वछ्यौली नारी चेतना सहकारीबाट रु एक लाख १५ हजार चोरी भएको छ । 

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट रु एक लाख ९९ हजार, भरतपुरको अभ्युदय बहुउद्धेश्यीय सहकारीबाट रु तीन लाख १७ हजार र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट रु छ लाख ५३ हजार चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ । 

चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको प्रहरीे बताएका छन् । घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ । 
सहकारीमा सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीहरु बताउछन् ।  

शङ्खलावद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बन्दै गएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?