वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्छु : नवनिर्वाचित मेयर सिंह

लोकपथ
63
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् ।

मंगलबार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् ।

उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरुसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताइन्। मेयर सिंहले वीरगञ्जमा सरसफाइको चुनौती रहेको उल्लेख गर्दै वर्षात्को समयमा पानी जम्ने समस्या समाधान गरिने पनि बताए ।

जनता समाजवादी पार्टीका नेता सिंहले सत्तारुढ गठबन्धनको तर्फबाट विजय हासिल गरेका हुन् । नेकपा(एमाले)का तर्फबाट मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । बैशाख ३० गतेको मतदानमा महानगरमा कुल ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाएका छन् ।

यस्तै, मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।

महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित भएका हुन् ।

उपमेयरमा विजयी आलमले ३० हजार ७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत ल्याएका छन्छ। मेयर र उपमेयरमा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?