काठमाडौं । आगामी भदौ १ गतेदेखि दाइजो माग्ने र दाइजोका कारण महिलालाई पिडा दिनेलाई कडा कारबाही हुने भएको छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएपछि दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारबाही हुने भएको हो । उक्त ऐनमा विवाहमा लेनदेन गर्न नहुने विषय उल्लेख गरिएको छ ।
नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने र घर निकाला गर्ने जस्ता घटनाहरु हरेक वर्ष घटदै आइरहेको छ । तर यस्ता घटनाका दोषीलाई कारबाही गर्ने कडा कानुनी प्रावधान नहुँदा घटनामा कमी आउन सकेको थिएन ।
ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको शर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ । यदि यसरी दाइजो मागेमा वा लेनदेनको शर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ ।
हालसम्म प्रचलनमा रहेको संहिता कानुन मुलुकी ऐन २०२० दाइजो माग्नेविरुद्ध कारवाहीको व्यवस्था नै गरिएको थिएन ।
यसैगरी विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ ।
मुलुकी अपराध (संहिता) ऐन अनुसार बहुबिवाह गरेमा त्यस्तो विवाह स्वतः बदर हुनेछ अर्थात त्यसले कानुनी मान्यता पाउन सक्ने छैन र बहुविवाह गर्ने पुरुष कारबाहीको भागीदार बन्नेछ । साथै विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ ।
अन्यथा बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।
त्यस्तै मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया