काठमाडौँ । गत आइतबार अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको शव आज दिउँसो आफन्तलाई बुझाइएको छ ।
बालकको शव बुझ्न आमा चमेली र मामा रामकाजी सापकोट लगायतका आफन्तहरु महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

अस्पतालले निशानको शव आमाको जिम्मा लगाएको थियो । उनका बुबा अहिले दुईबजे मलेसियाबाट काठमाडौं आइपुग्दै छन् ।
छोराको दाहसंस्कार गर्न बुबा गणेश खड्का एयरर्पोटबाट सिँधै पशुपति आर्यघाट आउने छन् । उनको बुबा आइपुगेपछि आजै अन्तिम दाहसंस्कार गरिने मामा रामकाजीले बताए ।

अस्पताल परिसरमा आफन्त, नातेदार तथा छरछिमेकको बाक्लो उपस्थित रहेको थियो । बालकको शव एम्वुलेन्समा राख्दै गर्दा शव लिन गएका आफन्तहरु भावुक बन्नका साथै महिलाहरु रुदै बाहिरिएका थिए ।
अस्पतालमा पुगेकी निशानकी आमा चमेली खड्कालाई आफन्तले सम्झाउने कोशिश गरेका थिए । अस्पतालमा उनी निकै भावुक देखिएकी थिइन् ।
उनको शवलाई एम्वुलेन्समा राखेर पशुपति आर्यघाट लगिएको छ । निशानको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएको थियो ।

त्यसको भोलि पल्ट सोमवार दिउँसो उनको हत्या गरी शव ठिमीस्थति श्याम लवटको निर्माणधिन घरको पछाडि भागमा गाडिएको अवस्थामा फेला परेको थियो ।
सो अपहरण घटनामा संलग्न रहेको भनिएका अजय तामाड र गोपाल तामाड प्रहरीसँगको मुठभेटमा मारिएका छन् । उनीहरु दुईजनाको शव पनि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया