महानगरमा नील हुँदै उपमहानगरमा खुम्चियो एमाले

लोकपथ
1.4k
Shares

काठमाडौं । यस पटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीबाट दास्रोमा झरेको छ ।

२०७४ मा २ सय ९४ पालिकामा प्रमुख, ३ सय ३१ पालिकामा उपप्रमुख, २ हजार ५६० वडा अध्यक्ष र १० हजार ९१२ जना वडा सदस्यहरूसहित पहिलो पार्टीको रूपमा स्थापित भएको एमाले अहिले दास्रोमा पुगेको छ ।

उता २ सय ६६ पालिकामा प्रमुख , २ सय २३ पालिकामा उपप्रमुख, २ हजार २८६ वडा अध्यक्ष र ८ हजार ६७९ जना वडा सदस्यहरूसहित दास्रो भएको नेपाली कांग्रेस यस पटकको निर्वाचनमा भने पहिलो पार्टी बनेको छ ।

पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेस ३ सय २० पालिकामा प्रमुख र २ सय ९५ उपप्रमुखमा जित निकाल्दै पहिलो पार्टी बनेको छ । २ सय पालिकाप्रमुख र २३० उपप्रमुखमा जित निकाल्दै नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।

२०७४ मा देशका ६ महानगरमध्ये २ महानगरमा आफ्नो स्थान बनाएको एमाले यस पटक भने शून्य हुने देखिएको छ । पोखरामा जित्ने आश गरेको एमाले त्यहाँ नेकपा एस हाबी हुँदा हार्ने निश्चितजस्तै भएको छ ।

त्यस्तै काठमाडौंमा स्वतन्त्र उम्मेदवार पक्काजस्तै भइसकेका छन् । एमालेले यसअघि जितेका यी दुई महानगर यस पटक एमालेको हातबाट खुस्किसकेको छ ।

११ वटा उपमहानगरमध्ये यसअघि ६ उपमहानगरमा जीतेको एमाले यस पटक तीनवटामा मात्र सीमित हुने देखिएको छ । कलैया र घोराही उपमहानगरमा जित हासिल गरिसकेको छ भने तुलसीपुर उपमहानगर राम्रै अग्रता लिइरहेको छ ।

यसअघि जितेको बुटवल र इटहरीमा कांग्रेस विजयी भइसकेको छ भने हेटौंडामा नेकपा एसले जितेको छ । जीतपुर सिमरामा यस पटक माओवादी विजयी हुँदा कांग्रेसले जितेको कलैयामा भने यस पटक एमालेले जित निकालेको छ ।

२०७४ मा एमालेले जितेको महानगर

१. काठमाडौं महानगरपालिका
२. पोखरा महानगरपालिका

२०७४ मा एमालेले जितेको उपमहानगर

१. हेटौंडा उपमहानगरपालिका
२. इटहरी उपमहानगरपालिका
३. जितपुर सिमरा उपमहानगरपालिका
४. तुलसीपुर उपमहानगरपालिका
५. घोराही उपमहानगरपालिका
६. बुटवल उपमहानगरपालिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?