८४ लाख नेपाली नोटसहित चार भारतीय पक्राउ

काठमाडौं । ठुठीबारी–महेसपुर सिमामा करिब ८४ लाख नेपाली रुपैयाँ सहित चार जना युवक पक्राउ परेका छन् । भारतको महराजगंज जिल्लाको सिमावर्ति बजार ठुठीबारी सिमामा भारतबाट नेपाल भित्राउँदै गरेको नेपाली र भारती गरि करिब ८४ लाख नगद सहित ४ जना युवाहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको सिमावर्ति बजार ठुठीबारी सिमा नेपालको नवलपरासीको महेसपुर सिमासंग जोडिएको नाका हो ।

ठुठीबारी–महेसपुर सिमामा भारतीय प्रहरीले सवारी साधन चेकजाँचको क्रममा युपी ५३ सीबी ४३९८ नम्बरको भरतीय सेतो कारमा सवार ४ जना युवाले नेपाली ८३ लाख २० हजार र भारतीय ४४ हजार रुपिया नगद सहित फेला पारेपछि कार र नगद रुपैया सहित कारोबारी ४ वटै युवाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको भारतीय सिमा सुरक्षा एवं खुफिया एजेन्सीले जानकारी दिएको छ ।

पैसाको बारेमा प्रहरीलाई विशेष सुराकी भएपछि बुधबार विहान जनपद प्रहरी र एसएसबीले सवारी साधन चेकजाँच गर्दै आवत जावत गर्ने व्यक्तिहरु माथि निगरानी बढाएको थियो । बुधबार विहानकै समयमा पैसाले भरिएको कार भारतबाट ठुठीबारी–महेसपुर नाका हुँदै नेपाल छिराउन खोज्दा शंकाका आधारमा प्रहरीले कार चेकगर्दा कारको डिग्गीमा कागजले बेरेर राखिएको नेपाली र भारतीय मुद्रा फेला पारी कार र युवकहरुलाई नियन्त्रणमा लिइएको थियो ।

भारी नगद रुपैया सहित पक्राउ पर्ने विहारको सिवान बस्ने निरंजन कुमार, गोरखपुर खजनी निवासी रामेश्वर सिंह, देवरियाको तरकुलवा निवासी धर्मेन्द्र राव र महराज गंजको निचलौल निवासी मुंशरीफ रहेको जनपद प्रहरी ठुठीबारी कोत्वालीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको भन्दै यिनीहरुको नेपाल भारतमा पैसाको कारोबार रहेको जानकारी दिएको छ । यस घटनाको विषयमा सीमाको सुरक्षा एवं खुफिया एजेसिहरु अनुसन्धान गरिरहेको बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?