साढे ३३ किलो सुन तस्करी, फाइल खोल्दै अपराध महाशाखा

काठमाडौं –विमानस्थलबाट गायब भएको साढे ३३ किलो तस्करीको सुन र सनम हत्या प्रकरणको फाइल महानगरीय अपराध अनुसन्धान महाशाखाले खोलेको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्या गरेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको भक्तपुरको सूर्यविनायक–८ मा इन्काउन्टर गरेको महाशाखाले हराएको सुनको खोजीका लागि त्यसमा संलग्नहरूमाथि अनुसन्धान थालेको हो ।

‘हराएको सुनको खोजी र यस प्रकरणमा जोडिएका व्यक्तिहरूको बारेमा अनुसन्धान थालेका छौं, अनुसन्धानलाई परिणाममुखी बनाउने योजनामा छौं,’ महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले भने, ‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयको निर्देशनका आधारमा यस प्रकरणको फाइल खोलेका हौं । केही प्राविधिक काम सकिएपछि टोली सक्रियताका साथ यस विषयमा केन्द्रित भएर अघि बढ्छ ।’
सनम शाक्यको हत्यापछि गठन भएको गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलेको विशेष छानबिन समितिले प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई बुझाइसकेको छ । ‘सरकारले पाएको प्रतिवेदनको पनि अध्ययन हुनेछ, सुन कहाँ कसले गायब बनायो भन्ने विषयमा पनि गम्भीरताका साथ अनुसन्धान हुनेछ,’ महाशाखाका एक अधिकारीले भने, ‘सरकारले घटनालाई यत्तिकै सेलाउन नदिने रणनीति अख्तियार गरेको आधारमा नै महाशाखाले फाइल पल्टाएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?