अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को एकीकरण

काठमाडौं । नेकपा निकट दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को एकताको निम्ति गठित तीनवटै उपसमितिले आज कार्यदललाई आआफ्नो प्रतिवेदन बुझाएका छन्।

तीनवटै उपसमितिले आज पर्यटन मन्त्री समेत रहेका नेकपा नेता रविन्द्र अधिकारी , कार्यदलका अर्का सदस्य रमेश मल्ल, अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ सहितको  ४ सदस्यीय कार्यदललाई प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझ्दै नेता अधिकारीले उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया तीव्र गतिमा अघि बढाउने बताए। कार्यदलका अर्का सदस्य रमेश मल्लले भदौको पहिलो साता सम्ममा एकता पूरा गरिने बताए।

अन्तरिम विधान मस्यौदा उपसमितिले बुझाएको विधान मस्यौदामा ४९९ सदस्यीय केन्द्रीय समितिको संख्या प्रस्ताव गरेको छ। अहिले ४९९ बनाउने भएपनि महाधिवेशनवाट भने १९९ सदस्यीय कमिटी बनाउने प्रस्ताव गरिएको छ।

विधान मस्यौदामा केन्द्रीय कार्यालय,स्थायी कमिटी,केन्द्रीय सचिवालय र केन्द्रीय समिति सहितको तहगत संरचना प्रस्ताव गरिएको छ। संगठनको नामको विषयमा भने उपसमितिमा एकमत भएको छैन। अनेरास्ववियु, अनेरास्ववियू(क्रान्तिकारी), अखिल नेपाल विद्यार्थी युनियन, एकीकृत अनेरास्ववियू जस्ता नामहरु छलफलमा आएका छन्।

यसैगरी कार्यदललाई बुझाइएको राजनीतिक शैक्षिक प्रतिवेदनमा जनवादी शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्दै समाजवादी शिक्षा प्राप्तिको दिशामा अघि बढ्ने साझा कार्यदिशा तय गरिएको छ। त्यसैगरी संगठन समायोजन मापदण्ड उपसमितिले पनि आफ्नो प्रतिवेदन बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?