प्रदेश ५ को मन्त्रिपरिषद्  बैठक : बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख दिने निर्णय

काठमाडौं । प्रदेश ५को मन्त्रिपरिषद बैठकले अनुदान दिने, उपसमिति निर्माण तथा संसदको दोस्रो अधिवेशन अन्त्य सम्बन्धमा निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्ष्टीच्युटलाई १० लाख, वालमन्दिरलाई २ लाख र बुटवल महिला जेसिजलाई १ लाख गरी ५३ लाख अनुदान दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीका अनुसार बैठकले प्रदेश मन्त्रिपरिषदको कार्य सम्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीन वटा उपसमिति रहेको मन्त्रीपरिषद समिति गठन गरेको छ । 

राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र आर्थिक समाजिक तथा पूर्वाधार समिति गठन भएको छ । मन्त्रिपरिषदले बिहिबारदेखि प्रदेश ५ संसदको दोस्रो अधिवेशन अन्त्य गर्ने निर्णय समेत गरेको छ । बैठकले प्रदेश योजना आयोगमा रहने सदस्यहरुका लागि उमेर हदलाई ४० बाट ३५ वर्षमा झारेको  छ ।

त्यस्तै प्रदेश मन्त्रिपरिषदले दाङ जिल्लाको शान्तिनगर गाउपालिकाको केन्द्र परिवर्तनका लागि गाउसभाबाट स्वकृत भइ आएको प्रस्तावलाई संघीय सरकारमा पठाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?