संसद्को अन्तिम सम्बोधनमा प्रचण्डले भने – एकता कसैविरुद्ध लक्षित छैन ( सम्बोधनको अंश)

काठमाडौं, २८ असोज – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले कम्युनिष्टहरु बीचको एकता कसैका विरुद्ध परिलक्षित नभएको स्पष्ट पारेका छन् ।शनिबार दिउँसो व्यवस्थापिका–संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बाम एकता जनताको आकांक्षा बमोजिम भएको र कसैका विरुद्ध नभएको स्पष्ट पारे ।‘लौ, कम्युनिष्टको शासन आउने भयो भनेर बजारमा बिडम्बनापूर्ण चर्चा भयो । जबकि यो गलत कुरा थियो ।’ अध्यक्ष प्रचण्डले भने , ‘दुखको कुरा प्रधानमन्त्रीले पनि त्यो पत्याउनु भयो, यो साँचो कुरा होइन ।’ अध्यक्ष प्रचण्डले आफूहरु यही संविधान अन्तर्गत रहेर शान्तिपूर्ण तरिकाले अघि बढ्ने स्पष्ट पारे ।‘नेपाली जनता, सरकार र अन्तर्राष्ट्रिय जगतले समेत यसलाई अतिरञ्जित तरिकाले नबुझ्न अनुरोध गर्दछौं’ प्रचण्डले भने , ‘हामीहरु शान्तिपूर्ण तरिकाले नै अघि बढ्ने हो । कम्युनिष्ट भएको नाताले एउटै केन्द्रको प्रयास गर्नु गलत होइन, यो बाम जनमतको आकांक्षा पनि हो ।’प्रचण्डले थपे , ‘अहिले वाम एकताको कुरा चलेको छ । मैले त्यसको घोषणा हुनुअघि पनि प्रधानमन्त्रीलाई यो कसैप्रति लक्षित छैन भनेर भनेको हो । अहिले बजारमा आएको चर्चा दुखद छ । कम्युनिष्टको शासन आइहाल्यो भनेर प्रचार गर्नु बिडम्बना हो । हामीले यो संसदीय प्रणालीलाई नै स्वीकार गरेका छौं । हामीलाई कुनै खालको अधिनायकवाद स्वीकार्य छैन, अहिल्यै साम्यवाद आउने कुरा पनि होइन । कसैले अनावश्यक शंका र प्रचार गर्नु आवश्यक पनि छैन ।’‘हामीले सेना समायोजन र हतियार व्यवस्थापन जस्ता अत्यन्तै चुनौतिपूर्ण जिम्मेवारी पुरा गरेका छौं । सामान्य नेताले सक्ने कुरा थिएन सेना समायोजन र हतियार व्यवस्थापन । पार्टी विभाजनको जोखिम मोलेर भएपनि यस्तो साहस गर्ने कुरा चानचुने कुरा थिएन । विश्वमा नै यस्तो कहीँ देखिन्न । त्यसैले अहिले यही संविधान अन्तर्गत शान्तिपूर्ण रुपमा विचार मिल्ने कम्युनिष्टहरु एक ठाउँ देखिँदा कोही झस्किनुपर्ने कारण छैन । अहिले यो सदनमा समेत जुन विचार व्यक्त भए, त्यसरी डराउनुपर्ने कारण छैन । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन, समृद्धिका लागि सबैसँग एक भएर जानेमा हामी जिम्मेवार छौं’ अध्यक्ष प्रचण्डले भने ।संसदमा अध्यक्ष प्रचण्डले भने , ‘हामी कम्युनिष्ट भएका नाताले देशलाई सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने कुरा स्वभाविक हो । यसलाई राजनीतिक ढंगले हेर्न कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु । यो एकताको कुरा हामीले दश वर्षदेखि मेहेनत गरेको हो । अहिले एक कदम अगाडि बढेका छौं । तर, यो देशमा राजनीतिक अस्थिरता पैदा गर्ने कुरासँग सम्बन्धित छ, सरकार ढाल्ने र अर्को सरकार बनाउने कुरासँग यो सम्बन्धित छैन । यो सरकारविरुद्ध परिलक्षित होइन । यो एकता प्रक्रियाले सरकारका विरुद्ध होइन, बरु सरकारले निर्वाचनको जिम्मेवारी निर्वाह गरोस् भनेर एकताको सहमतिको घोषणाको बेला भनिएको छ ।’‘हामी देश र जनताको हितका पक्षमा सहकार्य गर्न जहिले र जोसुकैसँग पनि तयार छौं’, अध्यक्ष प्रचण्डले भने , ‘नेपाली कांग्रेस लगायतका शक्तिसँग मिलेर देशको हित हुन्छ भने हामी त्यसमा पनि सहकार्य गर्छाैं । यो लुकिछिपी, बेइमानी र षडयन्त्रको कुरा होइन । जति जिम्मेवारी बोध र लचकता माओवादी प्रस्तुत भएको छ, त्यो सिंगो देशका अगाडि छ ।’अध्यक्षले भने , ‘हामी संविधानसभाबाट संविधान घोषणा गरेर त्यसको कार्यान्वयनको प्रक्रिया अन्तर्गत रुपान्तरित संसदको अन्तिम बैठकमा छौं । त्यस अर्थमा आजको दिन सबै माननीय संसद, संसदमा सहभागी राजनीतिक दल र यो प्रक्रियामा नेतृत्व गर्ने सम्मानीय सभामुख, सचिवालय र कर्मचारीको निम्ति खुसी र गर्वको दिन हो । अघिल्लोपटक संविधानसभाबाट संविधान नबनाई भंग भएको तीतो अनुभव हामी सबैले अनुभव गरेको स्थिति हो । यसपटक संविधान घोषणा गरेर कार्यान्वयनमा अघि बढेर प्रदेश र केन्द्रको निर्वाचनका लागि मनोनयनको प्रक्रियामा आइपुगेका छौं । यस अर्थमा हामी सबैले खुसी र गर्वको अनुभूति गरेका छौं । यसपटक विगतको जस्तो तीतो यथार्थ अनुभूति गर्नु परेन । इतिहास दोहोरिएन । त्यस अर्थमा हामी एउटा सफलताको अनुभूति गरेका छौं । सात साल वरिपरिबाट उठेको नेपाली जनताको ठूलो बलिदानपछि निर्माण भएको यो संविधान जारी गर्न सफल भएकोमा गर्वको अनुभुति गरेका छौं ।’‘संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर सबै भन्दा बढी संघर्ष र बलिदान गरेको पार्टी भएर पनि अघिल्लो संविधानसभाबाट संविधान नबन्दा हामी धेरै चिन्तित थियौं । कतै दोश्रोबाट पनि नबन्ने त होइन ? भनेर हामी चिन्तित थियौं । सर्वाधिक ठूलो विद्रोहको नेतृत्व गरेर शान्ति प्रक्रियामा आएको नाताले दोश्रो संविधानसभा पनि असफल त हुँदैन भन्नेमा हामी सबैभन्दा बढी चिन्तित थियौं र मेहनत गर्न सचेत पनि’, अध्यक्ष प्रचण्डले थपे , ‘अर्कोतर्फ संविधान बन्ने कुराको सिधा सम्बन्ध शान्ति प्रक्रियासँग थियो । यो नेपाली राजनीतिक घटनाक्रमको मौलिक विशेषता पनि हो । ठूलो विद्रोह र शान्ति सम्झौता र योसँग जोडिएर आएको संविधानसभा र संविधान । यो नेपाली जनता र देशका लागि एउटा मौलिकता र विशिष्टता थियो । शान्ति प्रक्रियाको असफलता र संविधानसभाको सफलताको मात्र सफलताको कल्पना गर्नु गाह्रो थियो ।’‘त्यस्तो बेलामा संविधान सभाबाट संविधान बनाउने कुरामा कुनै व्यवधान नरहोस् भनेर निकै ठूलो मूल्य चुकाएर, पार्टी विभाजन हुने मूल्यमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सेना समायोजन जस्तो जोखिम मोलेर पनि हामी अघि बढेका थियौं । त्यो जोखिम नलिएको भए संविधान बन्ने थिएन’, प्रचण्डले थपे , ‘दोश्रो संविधान सभा बन्ने आधार पनि शान्ति प्रक्रियामा लिइएको निर्णयसँग प्रत्यक्ष रुपमा जोडिएको छ । त्यसले नै अर्कोे संविधान सभा र त्यसबाट संविधान निर्माणको बाटो प्रशस्त गरेको स्मरण गर्न चाहन्छौं । हामीले दोश्रोबाट पनि संविधान बन्दैन कि भनेर पर्याप्त लचकता अपनाउनुपर्ने बाध्यता, अर्कोतर्फ उत्पीडित जनताका माग पुरा हुँदैनन् कि भन्ने चिन्ता । यो दोहोरो चेपुवामा हामी थियौं । त्यसैले हाम्रो र अरु पार्टीले निकै जिम्मेवारीपूर्ण भूमिका खेल्यो र संविधान निर्माणको नेतृत्व लियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?