काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’ समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले नियन्त्रणमा लिइको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले राजधानीमा चन्दा आतंक फैलाएको अभियोगमा उनलाई सुकेधाराबाट नियन्त्रणमा लिएको हो । यो समूहले माओवादी पार्टीका नाममा चन्दा माग्ने गरेको गुनासो ब्यवसायीहरुको छ ।
‘प्रकाण्ड’ लाई थप कारवाहीका लागि ब्यूरो प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । प्रकाण्डलाई टेकुस्थित परिसरको हिरासतमा राखिएको छ ।
पार्टीलाई सहयोग गर्न आग्रह गर्दै राजधानीका लब्ध प्रतिष्ठित उद्योगपति, ब्यापारी, ब्यवसायी तथा सर्वसाधारलाई चिठी थमाएर चन्दा माग्न थालेपछि ब्यूरो प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले चन्दा अशुली गरेको अभियोगमा पक्राउ परेका नेता प्रकाण्डलाई थप कारवाहीका लागि परिसरमा राखिएको बताए ।
भूमिगत शैलीमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहमा चन्दा कै विषयलाई पार्टीका महामन्त्री चन्द र विश्वकर्माबीच यसअघि विवाद भएको थियो ।
प्रवक्ता विश्वकर्माले आफूले उठाएको चन्दा रकम पार्टीलाई नबुझाएको र हिनामिना गरेको भन्दै महामन्त्री चन्दले समेत कारवाहीको धम्की दिएका थिए ।
सो घटना सार्वजनिक भएसँगै प्रहरीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो । पूर्व पर्यटन तथा महिला मन्त्री विश्वकर्मा प्रचण्डले नेतृत्व गरेको मूलपार्टी माओवादीबाट टुक्रिएर वैद्यको नेतृत्वमा अर्को पार्टी खोलेका थिए ।
चन्द र विश्वकर्माले वैद्यबाट समेत छुटिएर नयाँ पार्टी गठन गरेका थिए । उनीहरु भूमिगत शैलीमा राजनीतिमा सक्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया