‘द ब्रेकअप’ पुरा नहुँदै निर्माता-निर्देशक बीच नै ब्रेकअप

काठमाडौं । रिलमा चलचित्र ‘द ब्रेकअप’ बनाई रहेका निर्माता रोहित अधिकारी र निर्देशक हेमराज बिसीको रियल नै ब्रेकअप भएको छ । अर्थात यसका निर्माता रोहित निर्देशक बिसी सहित चलचित्र युनिटसँग अलग भएका छन् । 

निर्माता रोहित अधिकारीले आफ्नो आधिकारीक फेसबुकमा चलचित्र ‘द ब्रेकअप’ निर्माणबाट आफुले हात झिकेको जनाएका हुन् । केही पहिले अष्टे«लिया छायाँकन सकेर यो युनिट स्वदेश फर्किएको थियो ।

समय सुटिङ नसकिदा चलचित्रको बजेत बढ्न गएकोले निर्माता अधिकारी र निर्देशक बिसी बीच विवाद उत्पन्न भएको नाम गोप्य राख्ने सर्तमा युनिटका एक सदस्यले बताए । उनका अनुसार निर्माता अधिकारी अलग भएपछि अहिले निर्देशक बिसीले नै चलचित्र पुरा गर्ने जिम्बेवारी लिइरहेका छन् ।

मंगलबार चलचित्रको गोकर्ण रिसोर्टमा ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत छायांकन समेत भएको थियो । यो गीत अभिनेता सरोज खनाल माथी छायाँकन गरिएको थियो । 
धेरै बर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘ज्वाला’मा समावे यो गीतमा त्यतिबेला पनि सरोजले अभिनेत्री कृष्टि मैनालीसँग कम्मर मर्काएका थिए । अहिले पनि यो गीत उनी माथीनै छायाँकन गरिएको छ । 

चलचित्र ‘द ब्रेकअप’मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारहरुको अभिनय छ । बिवादको बिषयमा बुझन् निर्माता रोहित र निर्देशक हेमराजसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?