शुद्धोधनमा पुनः मतगणना गर्न माग गर्दै काँग्रेसकाे आयोगमा निवेदन

काठमाडाैं । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ मा मतगणना प्रतिनिधी र कर्मचारीको विवरण फरक परेको भन्दै काँग्रेसका उम्मेदवार जंगबहादुर यादव पक्षले निर्वाचन आयोगसँग पुनः मतगणनाको माग गरेका छन् ।

शनिबार बेलुका सम्पन्न मतगणनाको वास्तविक तथ्यांक फेरबदल गरी कर्मचारीले जितेको उम्मेदवारलाई १ मतले पराजित घोषणा गरेको भन्दै यादवले आयोगसँग पुनः मतगणनाको माग गरेका हुन् ।

काँग्रेसका तर्फबाट मतगणनामा बसेका प्रतिनिधि दिलीप यादवका अनुसार मतगणना सकिँदा जनता समाजवादीका उम्मेदवार उदयरजा गढेरियाको ९८७ मत र काँग्रेसका जंगबहादुर यादवको ९८८ मत थियो । सोही अनुसार काँग्रेस उम्मेदवार विजयी भएको भन्दै विजय जुलुसको तयारीमेत गरियो । तर, मतगणनामा खटिएका कर्मचारीले कम्युटर प्रिण्ट गरेको कागजमा गडरियाको ९९२ र यादवको ९९१ मत रहेको विवरण सार्वजनिक गरे । त्यसपछि विजय जुलुस रोकियो ।

कर्मचारीले प्रिन्ट गर्ने बेला झुटो तथ्यांक राखेर प्रिन्ट गरेको काँग्रेस पक्षको आरोप छ । ‘पहिला ९८७ र ९८८ मत कर्मचारीले प्रिन्ट गर्ने बेलामा ९१ र ९२ कसरी भयो रु’, काँग्रेस उम्मेदवार यादवका भाइ सूर्यमान यादव भन्छन्, ‘पहिला जोड्दा हामी अगाडी थियौँ, तर निर्वाचनका कर्मचारीले उनीहरुलाई एकमतले जितायो र घोषणा पनि गरिहाल्यो ।’ उक्त वडामा कुल २ हजार ८९२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?