बसपार्क प्रहरीले समात्यो मोटरसाइकल चोर

काठमाडौँ – मोटरसाइकल चोरीको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  मंगलबार बिहान नयाँ बसपार्कबाट प्रहरीले बा ७५ प ७२५ नम्बर र बा ६१ प २१०१ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा एवल राइलाई पक्राउ गरेको हो । उनको ठेगाना खुल्न सकेको छैन ।

नयाँ बसपार्क प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम केसीको नेतृत्वमा खटिएको  नयाँ बसपार्क प्रहरी र अपराध महाशाखा गोंगबु शाखाको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो  । सो  मोटरसाइकल नयाँ बसपार्कस्थित पर्वत होटलबाट बरामद गरिएको केसीले बताए ।

अभियुक्तले हाम्रो बजार डट कम नामक खरिद विक्रि वेबसाइटमा बेच्न राखिएको  मोटरसाइकल किन्ने बहानामा टेस्ट ड्राइभ गर्ने भन्दै चोरेर भागेका थिए । गत बैशाखमा  बा ७५ प ७२५ नम्बरको भक्तपुरबाट चोरीएको  मोटरसाइकलको उनले नम्बर समेत परिवर्तन गरि ग १२ प १७२८ बनाएर चलाइरहेका थिए ।

सोहि शैली अपनाउँदै बालुवाटारबाट पनि बा ६१ प २१०१ नम्बरको मोटरसाइकल चोरेका थिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?